उजुरी परेपछि रास्वपाको अधिवेशन स्थगित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बागमती र मधेस प्रदेशका विभिन्न स्थानीय तह तथा वडाहरूमा हुने पार्टीको निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगको मंगलबार बसेको बैठकले प्राप्त उजुरी तथा उत्पन्न विवादका कारण छानबिन आवश्यक देखिएकाले निर्वाचन प्रक्रिया हाललाई रोकिएको जनाएको हो।
आयोगका प्रमुख भुवन केसीद्वारा जारी पत्रअनुसार बागमती प्रदेशअन्तर्गत सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका तथा अन्य विवादित स्थानीय तह र वडाहरूमा निर्वाचन स्थगित गरिएको छ।
त्यस्तै मधेस प्रदेशका सप्तरी र सिराहा जिल्लाका विभिन्न स्थानीय तह, महोत्तरीका जलेश्वर, एकडारा, मतिहानी, मनरा शिसवा, पिपरा गाउँपालिका लगायतका क्षेत्रहरूमा पनि निर्वाचन प्रक्रिया रोकिएको छ। धनुषाका जनकपुर उपमहानगरपालिका, जनकनन्दिनी गाउँपालिका, गणेशमान चारनाथ नगरपालिका तथा सर्लाहीको हरिपूर्वा नगरपालिकामा समेत प्रक्रिया स्थगित गरिएको छ।

आयोगले विवाद समाधानपछि मात्र सम्बन्धित क्षेत्रका निर्वाचन प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ। साथै, निर्देशन विपरीत कुनै गतिविधि गरेमा त्यसलाई आधिकारिक मान्यता नदिने चेतावनीसमेत दिइएको छ।
आयोगका अनुसार पार्टीभित्रको निर्वाचनलाई निष्पक्ष, लोकतान्त्रिक र व्यवस्थित बनाउन छानबिन पूरा नभएसम्मका लागि यो निर्णय गरिएको हो।
अन्य क्षेत्रमा भने निर्वाचन प्रक्रिया यथावत सञ्चालन हुने जनाइएको छ।
