`

सिम हराएपछि…भयो साढे २४ लाख गायब

Nepal One HD २२ जेठ २०८३ १४:११
अपराध

काठमाडौं । सिमकार्डको दुरुपयोग गर्दै मोबाइल बैंकिङमार्फत विभिन्न बैंक खाताहरू तथा वालेटमा ठूलो रकम ट्रान्सफर गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१ सृजनानगर बस्ने सिन्धुली फिक्कल गाउँपालिका–४ का २६ वर्षीय रोशन पहाडी र ललितपुर महानगरपालिका–१३ बस्ने डडेल्धुरा अमरगढी नगरपालिका–८ का २५ वर्षीय सुभाष ओझा रहेका छन्। उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले बुधबार छुट्टाछुट्टै स्थानबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार रोशनलाई सल्लाघारीबाट र सुभाषलाई एकान्तकुनाबाट पक्राउ गरिएको हो।

अनुसन्धानमा खुल्न आएअनुसार पीडितको नाममा ९८१८०९१८७१ नम्बरको सिमकार्ड सन् २०७० असोज २ गते जारी भएको थियो। उक्त सिम हराएपछि त्यसलाई  पहाडीले प्रयोगमा ल्याएको देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ।

सिम पुनः सक्रिय भएपछि पीडितको कुमारी बैंक (पहिले नेपाल क्रेडिट एन्ड कमर्स बैंक) खातामा आउने रकमका एसएमएस सूचनाहरू उनीहरूको पहुँचमा पुगेका थिए। त्यसपछि मोबाइल बैंकिङ सेवा दुरुपयोग गर्दै विभिन्न व्यक्तिहरूको नाममा रहेका ई-सेवा, खल्ती तथा बैंक खाताहरूमा रकम ट्रान्सफर गरी निकालिएको पाइएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार यसरी कुल २४ लाख ४७ हजार ५२८ रुपैयाँ विभिन्न बैंक तथा डिजिटल वालेटमा ट्रान्सफर गरी हिनामिना गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

प्रहरीले दुवै जनामाथि थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *