कक्रोच जनता पार्टीले सुरु गर्यो दिल्लीमा प्रदर्शन
नयाँ दिल्ली । कक्रोज जनता पार्टी (सीजेपी) ले भारतको राजधानी नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा पहिलो पटक विरोध प्रदर्शन सुरु गरेको छ। पार्टीका संस्थापक अभिजित दिपकेको उपस्थितिमा हजारौं समर्थकहरूले प्रदर्शनमा सहभागिता जनाएका छन्।
प्रदर्शनकारीहरूले विभिन्न परीक्षाका प्रश्नपत्र बाहिरिएको प्रकरणसहित शिक्षा क्षेत्रमा देखिएका अनियमितताबारे आपत्ति जनाउँदै शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेका छन्।
सीजेपीका संस्थापक दिपके शनिबार बिहान ७ बजेर ४५ मिनेटमा नयाँ दिल्ली अवतरण गरेका थिए। यसअघि उनी अमेरिका बस्दै आएका थिए। एयरपोर्टबाट बाहिरिनेबित्तिकै उनले अम्बेडकरको पुस्तक हातमा बोकेका थिए र सोही पुस्तकसहित जन्तर–मन्तरमा भइरहेको प्रदर्शनमा सहभागी भएका हुन्।
परीक्षा प्रणाली, विशेषगरी चिकित्सा प्रवेश परीक्षासहितका विभिन्न परीक्षामा प्रश्नपत्र बाहिरिएको आरोपलाई लिएर आन्दोलन चर्किएको हो।
सामाजिक सञ्जालमार्फत लोकप्रियता हासिल गरेको सीजेपीले पहिलो पटक सडक प्रदर्शन गरेको हो। यद्यपि पार्टी हालसम्म औपचारिक रूपमा राजनीतिक दलका रूपमा दर्ता भएको छैन।
