विनयी त्रिवेणीमा हावाहुरी असिनाले धानबाली नष्ट, ७३ परिवार प्रभावित(तस्विरहरु)
फिचर
नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा आएको हावाहुरीसहितको वर्षा र असिनापानीले किसानले भित्र्याउने तयारीमा राखेको धानबालीमा ठूलो क्षति पुर्याएको छ। मंगलबार साँझ आएको प्रतिकूल मौसमका कारण धानबालीसँगै घरगोठ र दैनिक उपभोगका सामग्रीमा समेत क्षति पुगेको छ।
विनयी त्रिवेणी गाउँपालिका–१ अन्तर्गत बगुवन र सिसेनी क्षेत्र सबैभन्दा बढी प्रभावित बनेका छन्। स्थानीय तहका अनुसार बगुवन, सिसेनी, ज्योगीकुटी, तल्लो ज्यामिरे र पुरानो बस्ती गरी विभिन्न स्थानका ७३ घरपरिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
धान काटेर भित्र्याउने तयारीमा रहेका किसानहरू सबैभन्दा बढी मारमा परेका छन्। खेतमा काटेर मुठा पारेर राखिएको चैते धान एक्कासि आएको हावाहुरी र वर्षाले भिजाएको छ भने असिनापानीले नकाटिएको धानबालीमा समेत क्षति पुर्याएको छ।
बगुवन क्षेत्रमा विगत पाँच दशकदेखि बसोबास गर्दै आएकी स्थानीय मिना विकले आफ्नो खेतमा काटेर राखेको धान भिज्नुका साथै घरमा समेत ठूलो क्षति पुगेको बताइन्। उनका अनुसार पाँच कठ्ठा क्षेत्रफलमा लगाएको धान काटेर मुठा पार्दै गर्दा अचानक हावाहुरीसहित पानी परेपछि धान जोगाउन हम्मेहम्मे परेको थियो।
‘पाँच कठ्ठामा लगाएको धान काटेर मुठा पार्दै थिएँ। अचानक हावाहुरीसहित पानी पर्यो,’ उनले भनिन्, ‘खेतमा रहेको धान जसोतसो कुन्यु लगाएर घर फर्किएँ। घर पुगेपछि त हावाले टिनको छाना नै उडाइदिएछ। घरभित्र राखेको धान, चामल, लत्ताकपडा सबै भिज्यो। धन्न ज्यान जोगियो।’
स्थानीय किसानहरूका अनुसार धान भित्र्याउने अन्तिम चरणमा पुगेका बेला आएको वर्षा र हावाहुरीले वर्षदिनको मेहनतमाथि चोट पुर्याएको छ। कतिपय किसानको खेतमा राखिएको धान लामो समय भिज्दा उत्पादनमा समेत कमी आउने चिन्ता बढेको छ।
जिल्ला कृषि विकास कार्यालयका कृषि अर्थ विज्ञ संजय ढकालका अनुसार बगुवन क्षेत्रमा मात्रै करिब सात बिघा क्षेत्रफलमा काटेर राखिएको धानमा क्षति पुगेको छ। अधिकांश किसानले धान भित्र्याइसके पनि करिब ३० प्रतिशत धान अझै खेतमै रहेका कारण त्यसमा प्रत्यक्ष असर परेको उनले बताए।
उनका अनुसार सिसेनी क्षेत्रमा करिब पाँच बिघा क्षेत्रफलमा काटिएको धानमध्ये झण्डै ५० प्रतिशतमा क्षति पुगेको छ। त्यस्तै, करिब ३५ बिघा क्षेत्रफलमा रहेको नकाटिएको धानबाली असिनापानीका कारण प्रभावित भएको छ। कृषि प्राविधिक टोलीले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी क्षतिको विवरण संकलन गरिरहेको ढकालले जानकारी दिए।
हावाहुरीले कृषि क्षेत्रमात्र नभई स्थानीय बासिन्दाका घरमा पनि क्षति पुर्याएको छ। विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीका अनुसार प्रारम्भिक मूल्यांकनका आधारमा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
गाउँपालिका अध्यक्ष गिरीका अनुसार सिसेनीमा २३, बगुवनमा ४०, ज्योगीकुटीमा १, तल्लो ज्यामिरेमा ७ र पुरानो बस्तीमा २ गरी जम्मा ७३ घरपरिवार प्रभावित भएका छन्। प्रभावित परिवारका घरका छाना उड्नुका साथै अन्नपात, लत्ताकपडा, खाद्यान्न तथा अन्य घरेलु सामग्रीमा समेत क्षति पुगेको छ।
स्थानीय सरकारले प्रभावित क्षेत्रको तथ्यांक संकलन गर्ने कार्य तीव्र बनाएको छ। गाउँपालिकाले वडास्तरबाट क्षतिको विवरण संकलन गरिरहेको र वास्तविक अवस्था मूल्यांकनपछि राहत तथा सहयोगका कार्यक्रम अघि बढाइने जनाएको छ।
‘हामीले प्रभावित परिवारको विवरण संकलन गरिरहेका छौं,’ अध्यक्ष गिरीले भने, ‘क्षतिको यकिन विवरण प्राप्त भएपछि गाउँपालिकाको तर्फबाट आवश्यक राहत र सहयोग उपलब्ध गराउने तयारी गरेका छौं।’
असामयिक हावाहुरी र असिनापानीका कारण किसान तथा स्थानीय बासिन्दाले ठूलो क्षति व्यहोर्नुपरेपछि प्रभावित क्षेत्रका बासिन्दाले राहत र पुनःस्थापनाका लागि सम्बन्धित निकायसँग तत्काल सहयोगको माग गरेका छन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट




















