प्रदेशसभा बैठकमा वार्षिक प्रतिवेदन पेस
विराटनगर – कोशी प्रदेशसभाको आजको बैठकमा महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/८२ को आठौँ वार्षिक प्रतिवेदन पेस भएको छ । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले उक्त प्रतिवेदन पेस गर्नुभएपछि सभामुख अम्बरबहादुर विष्टले आवश्यक छलफलका लागि सार्वजनिक लेखा समितिमा पठाउने जानकारी सदनलाई दिनुभयो ।
बैठकको विशेष समयमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कोशी प्रदेशसभा संसदीय दलको तर्फबाट राजन कार्कीले किमाथाङ्का मार्गलाई व्यवस्थित गर्न सरकारसँग माग गर्नुभयो । उहाँले किमाथाङ्का सडक कोशी प्रदेशका निम्ति समृद्ध र विकासका आधार बन्ने भएकाले प्रदेश सरकारले उक्त मार्ग व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो ।
तिब्बत र चीनसँग व्यापार विस्तार गर्न किमाथाङ्का नाकासँगै भन्सार, अध्यागमन र क्वारेन्टाइन कार्यालयलाई व्यवस्थित गर्नुपर्ने भन्दै उहाँले यो नाका कोशी प्रदेशको विकासका लागि उत्तरी ढोका हो भन्नुभयो ।
बैठकको शुन्य समयमा प्रदेशसभा सदस्य गोम्बू शेर्पाले आगामीमा आर्थिक वर्षको बजेट सरकारले कुनै पनि किसिमको त्रुटी गर्ने छुट नभएको बताउनुभयो । सदस्य मीन श्रेष्ठले नेपाल-भारतको सीमामा हुने अवैध क्रियाकलापलाई रोक्न स्थानीय जनताले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो ।
सदस्य किशोरचन्द्र दुलालले नेपाली जनता दिनप्रतिदिन महँगीको मारमा परिरहेकाले यसबाट जोगाउन सरकारले प्रभावकारी योजनासहित आवश्यक कदम चाल्नुपर्ने सुझाव दिनुभयो । सदस्य गोपालबहादुर विश्वकर्माले आगामी बजेट जनता केन्द्रित बनाउन माग गर्नुभयो । प्रदेशसभाको अर्को बैठक शनिबार अपराह्न ३ः०० बजे बस्नेछ ।
