कुन-कुन बैंकले घटाए ब्याजदर ?
काठमाडौं। असार महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ निक्षेप ब्याजदर सार्वजनिक गरेका छन् । जेठ महिनाको तुलनामा औसत निक्षेप ब्याजदरमा सामान्य गिरावट आएको छ ।
नयाँ दरअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा औसत अधिकतम ब्याजदर ४.२७ प्रतिशत कायम भएको छ ।
जेठ महिनामा यस्तो ब्याजदर ४.३४ प्रतिशत रहेको थियो । त्यसैगरी संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर ३.२० प्रतिशतबाट घटेर ३.१८ प्रतिशतमा झरेको छ ।
नेपालमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ७ बैंकले असारका लागि ब्याजदर घटाएका छन् भने बाँकी १३ बैंकले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन् ।
ब्याजदर घटाउने बैंकहरूमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, एनआईसी एशिया बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंक, लक्ष्मी सनराइज बैंक र एनएमबी बैंक रहेका छन् ।
पछिल्लो समय बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहनु, कर्जाको माग अपेक्षाकृत कमजोर हुनु तथा निक्षेप संकलनमा दबाब नहुनुले बैंकहरूलाई ब्याजदर घटाउन सहज भएको विश्लेषण गरिएको छ ।
असार महिनाको नयाँ ब्याजदर सार्वजनिक भएसँगै अब कुन बैंकले निक्षेपकर्तालाई कति प्रतिफल दिने भन्ने विषयमा सर्वसाधारणको चासो केन्द्रित भएको छ ।
बैंकहरूले सार्वजनिक गरेका दरअनुसार मुद्दती निक्षेपमा ब्याजदर अझै एकल अंकमै सीमित रहेको छ ।
