`

इसेवाको झुर सर्भिस : विश्वकप हेर्न पैसा तिरे, हेर्न पाएनन् !

Nepal One HD ३१ जेठ २०८३ ११:४९
विज्ञान-प्रविधि

काठमाडौं । फिफा विश्वकप २०२६ को रोमाञ्चक माहोलबीच डिजिटल भुक्तानी सेवा इसेवाप्रति ग्राहकहरूको असन्तुष्टि बढ्दै गएको छ।

इसेवामार्फत ‘डिगो’को विश्वकप प्याकेज खरिद गरेका धेरै प्रयोगकर्ताले पैसा काटिए पनि सेवा सक्रिय नभएको गुनासो गरेका हुन् ।

विश्वकपका खेल हेर्नका लागि इसेवाबाट डिगोको मोबाइल प्याकेज खरिद गरेका ग्राहकहरूले भुक्तानी गरेको चार दिन बित्दासमेत खेल हेर्न नपाएको बताएका छन् । सामाजिक सञ्जालमा यस्ता गुनासाहरू उल्लेख्य रूपमा देखिन थालेका छन् ।

एक प्रयोगकर्ता विपी अनमोलले सामाजिक सञ्जालमार्फत आफ्नो गुनासो सार्वजनिक गर्दै लेखेका छन्, ‘इसेवाबाट डिगो एपमार्फत विश्वकप हेर्न ५४९ रुपैयाँको मोबाइल प्याकेज किनेको आज चार दिन भयो । खाताबाट पैसा काटिसक्यो तर सेवा अझै सक्रिय भएको छैन । मेरो पैसा फिर्ता गर्ने कि प्याकेज अपडेट गर्ने ?’

उनका अनुसार समस्याबारे इसेवा र डिशहोमलाई समेत जानकारी गराइसकिएको छ । तर हालसम्म समाधान नआएको गुनासो छ ।

यस्ता समस्या भोग्ने उनी एक्ला होइनन् । सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताले इसेवाबाट प्याकेज खरिद गर्दा सेवा सक्रिय हुन ढिलाइ भएको, भुक्तानी सफल देखिए पनि विश्वकपका खेल हेर्न नपाएको तथा ग्राहक सहायता सेवाबाट समेत तत्काल समाधान नपाएको गुनासो गरिरहेका छन् ।

प्रयोगकर्ताहरूका अनुसार कनेक्ट आईपीएस लगायत अन्य डिजिटल माध्यमबाट प्याकेज खरिद गर्दा सेवा तत्काल सक्रिय हुने गरेको छ । तर इसेवाबाट भुक्तानी गर्दा भने लामो समयसम्म पहुँच नपाउँदा विश्वकपका महत्वपूर्ण खेलहरू नै छुटेको उनीहरूको भनाइ छ ।

विश्वकपजस्तो समय–संवेदनशील प्रतियोगिताका बेला भुक्तानी भइसकेपछि पनि सेवा उपलब्ध नहुँदा ग्राहकहरू थप आक्रोशित बनेका छन् । कतिपयले पैसा पनि गुमेको र खेल पनि हेर्न नपाएको भन्दै इसेवाको सेवा गुणस्तरमाथि प्रश्न उठाएका छन् ।

हालसम्म यस विषयमा इसेवा वा डिगोको तर्फबाट विस्तृत आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन । तर सामाजिक सञ्जालमा बढ्दो गुनासोले डिजिटल सेवा प्रदायकहरूको ग्राहक सहायता प्रणाली, प्राविधिक क्षमता र सेवा व्यवस्थापनमाथि प्रश्न उठाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *