`

भारतीय अवरोधले संकटमा नेपाली चिया किसान, उद्योग बन्दको चेतावनी

रामचन्द्र जोशी ३१ जेठ २०८३ १२:०५
अर्थ समाचार

काठमाडौं। नेपाली चिया उद्योग फेरि एकपटक भारतीय नीतिगत अवरोधको मारमा परेको छ।

भारतले हालै लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) का कारण नेपालबाट निर्यात भइसकेको ठूलो परिमाणको चिया भारतीय गोदाममै रोकिएको छ भने नेपालका उद्योगहरूमा लाखौं किलो तयारी चिया थन्किएको छ।

यसको प्रत्यक्ष असर उद्योगीभन्दा बढी चिया किसानमाथि पर्न थालेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।

पूर्वी नेपालको इलाम, पाँचथर, धनकुटा र तेह्रथुमका हजारौं किसान चिया खेतीमा निर्भर छन्। उद्योगहरूमा चिया बिक्री हुन नसक्दा किसानबाट खरिद गरिएको हरियो पत्तीको भुक्तानी रोकिने र आगामी दिनमा पत्ती खरिद नै प्रभावित हुने जोखिम बढेको व्यवसायीहरूको भनाइ छ।

सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले जारी गरेको प्रेस विज्ञप्तिमा भारतीय चिया बोर्डको नयाँ प्रक्रियाले नेपाली चियाको निर्यात ठप्प भएको जनाएको छ।

एसोसिएसनका अनुसार हाल भारतमा पुगिसकेको करिब दुई लाख किलोभन्दा बढी चिया विभिन्न गोदाममा रोकिएको छ भने नेपालका उद्योगहरूमा १० लाख किलोभन्दा बढी चिया मौज्दात रहेको छ।

भारतीय चिया बोर्डले आयातित चियाको प्रत्येक खेपमा अनिवार्य प्रयोगशाला परीक्षण गर्नुपर्ने व्यवस्था लागू गरेको छ।

परीक्षणका लागि पठाइएको नमुनाको रिपोर्ट आउन हप्तौं र कतिपय अवस्थामा महिनौंसम्म लाग्ने गरेको उद्योगीहरूको गुनासो छ। अझ रिपोर्ट नआएसम्म चिया बिक्री-वितरण गर्न नपाइने र गुणस्तरमा समस्या देखिए गोदाममै चिया नष्ट गर्नुपर्ने प्रावधानले निर्यात व्यापार थप जटिल बनेको छ।

उद्योगीहरूका अनुसार यसले नेपाली चियाको बजार पहुँचमा प्रत्यक्ष अवरोध सिर्जना गरेको छ। परिणामस्वरूप उद्योगहरूमा नगद प्रवाह रोकिएको छ र किसानलाई भुक्तानी दिन कठिन हुन थालेको छ।

सूर्योदयस्थित तारागाउँ टी उद्योगका सञ्चालक उत्तमकुमार प्रधानले भारतीय कदमलाई सामान्य प्रशासनिक प्रक्रिया मात्र नभई नेपाली चियालाई बजारबाट विस्थापित गर्ने प्रयासका रूपमा व्याख्या गरे।

‘अन्तर्राष्ट्रिय संस्थाबाट अर्गानिक प्रमाणीकरण भएर तेस्रो मुलुकमा निर्यात भइरहेको चियामा समेत दोष देखाइएको छ,’ प्रधानले भने, ‘यदि त्यस्तो चियाको रिपोर्ट नै नकारात्मक आउँछ भने सामान्य उद्योगको चियाको अवस्था के होला ?’

उनका अनुसार भारतीय पक्षले गुणस्तर परीक्षणको नाममा नेपाली चियाको प्रवेशलाई निरुत्साहित गर्ने वातावरण बनाएको छ।

‘यो गुणस्तरको विषयभन्दा पनि नेपाली चिया भारत जान नदिने रणनीति जस्तो देखिएको छ,’ उनले भने।

नेपालबाट भारत पुगेको चिया बिक्री हुन नसक्दा उद्योगीहरूले रकम प्राप्त गर्न सकेका छैनन्।

भारतीय आयातकर्ताले चिया बिक्री भएपछि मात्रै नेपाली निर्यातकर्तालाई भुक्तानी दिने प्रचलन रहेकाले अहिलेको अवस्थाले उद्योगहरूमा वित्तीय संकट गहिरिँदै गएको छ।

चिया व्यवसायी ज्ञानी लिम्बूका अनुसार नेपाली चिया कोलकाता र सिलिगुढीका गोदाममा रोकिएको छ।

‘करिब २० दिनभन्दा बढी समयदेखि रिपोर्ट आएको छैन,’ उनले भने, ‘बिक्री कहिले हुन्छ भन्ने टुंगो छैन। यस्तो अवस्था लामो समय रह्यो भने उद्योग सञ्चालन गर्नै सकिँदैन।’

उनका अनुसार उद्योगीहरू उद्योग बन्द गर्ने विकल्पसम्म पुग्न बाध्य भएका छन्।

उद्योगहरू आर्थिक दबाबमा पर्दै जाँदा यसको असर किसानसम्म पुगिसकेको छ। उद्योगले बिक्रीबाट रकम प्राप्त नगरेपछि किसानबाट खरिद गरिएको हरियो चियापत्तीको भुक्तानी ढिलो हुने वा रोकिने जोखिम बढेको छ।

चिया खेती पूर्वी पहाडी जिल्लाका हजारौं परिवारको मुख्य आम्दानीको स्रोत हो। धेरै किसानले दैनिक खर्च, छोराछोरीको शिक्षा र कृषि लगानीको व्यवस्था चिया बिक्रीबाट प्राप्त आम्दानीबाट गर्दै आएका छन्। यस्तो अवस्थामा उद्योग संकटमा पर्दा किसानको आर्थिक अवस्था पनि कमजोर बन्ने निश्चित देखिन्छ।

नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष तथा चिया निर्यातकर्ता शिवकुमार गुप्ताले भारतीय पक्षले प्रत्यक्ष प्रतिबन्ध नलगाए पनि व्यवहारमा आयात निरुत्साहित गर्ने नीति अवलम्बन गरेको आरोप लगाए।

‘नेपाल र भारत दुवैतर्फका भन्सारबाट जाँचपास भइसकेपछि चिया भारतीय आयातकर्ताको गोदाममा पुग्छ’ उनले भने, ‘त्यसपछि पनि लामो समयसम्म बिक्री रोक्ने व्यवस्था व्यापारमैत्री देखिँदैन।’

उनका अनुसार नेपाली चिया बजारमा प्रवेश रोकिए किसानदेखि उद्योगीसम्म सबै तह प्रभावित हुनेछन्।

चिया क्षेत्रका सरोकारवालाहरूले भारतको पछिल्लो कदमलाई नयाँ भने पनि नेपाली चिया उद्योगका लागि भारतीय अवरोध नयाँ विषय होइन। विगतमा पनि विभिन्न समयमा भारतले गैरभन्सार अवरोधमार्फत नेपाली चियाको निर्यातमा समस्या सिर्जना गरेको उद्योगीहरूको दाबी छ।

उद्योगीहरूका अनुसार भारत नेपाली चियाको प्रमुख बजार हो। नेपालबाट उत्पादित अर्थोडक्स चियाको ठूलो हिस्सा भारतीय बजार हुँदै तेस्रो मुलुकमा समेत पुग्ने गर्छ। यस्तो अवस्थामा भारतीय पक्षले अपनाएको कडाइले समग्र निर्यात शृंखलामै असर पारेको छ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले भने हालसम्म भारतीय निकायबाट औपचारिक जानकारी प्राप्त नभएको जनाएको छ। बोर्डका प्रवक्ता डा. दीपक खनालका अनुसार भारतीय पक्षसँग आवश्यक विवरण माग गरिएको भए पनि स्पष्ट जवाफ प्राप्त भएको छैन।

‘अनौपचारिक रूपमा करिब ५० हजार किलोभन्दा बढी चिया परीक्षणका लागि रोकिएको जानकारी छ,’ उनले भने, ‘तर कुन मापदण्डका आधारमा परीक्षण भइरहेको छ भन्ने स्पष्ट भएको छैन।’

उनले समस्या समाधानका लागि सरकारी तहबाट पहल आवश्यक रहेको बताए।

पूर्वी नेपालको इलाम, पाँचथर, धनकुटा र तेह्रथुम क्षेत्रमा उत्पादन हुने अर्थोडक्स चियाले पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय बजारमा छुट्टै पहिचान बनाएको छ।

उच्च पहाडी भूगोल, अनुकूल हावापानी र उत्पादन प्रक्रियाका कारण नेपाली चियालाई गुणस्तरीय उत्पादनका रूपमा हेरिन्छ। धेरै अन्तर्राष्ट्रिय खरिदकर्ताले नेपाली चियालाई दार्जिलिङ चियाको प्रतिस्पर्धी उत्पादनका रूपमा समेत लिने गरेका छन्।

यही प्रतिस्पर्धात्मक क्षमताका कारण भारतीय उत्पादकहरू नेपाली चियाप्रति संवेदनशील बनेको उद्योगीहरूको बुझाइ छ। उनीहरूका अनुसार गुणस्तरीय नेपाली चियाले अन्तर्राष्ट्रिय बजारमा स्थान विस्तार गरिरहेका बेला आएको नयाँ अवरोधले प्रतिस्पर्धालाई प्रभावित गर्ने उद्देश्य बोकेको देखिन्छ।

सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनले सरकारले तत्काल कूटनीतिक तथा व्यापारिक पहल नगरे असार १ गतेदेखि उद्योग बन्द गर्नुपर्ने अवस्था आउने चेतावनी दिएको छ।

उद्योग बन्द भए हजारौं श्रमिकको रोजगारी प्रभावित हुने मात्र होइन, किसानले उत्पादन गरेको हरियो पत्ती बिक्री गर्ने बाटोसमेत बन्द हुन सक्छ।

चिया किसान, श्रमिक, उद्योगी र निर्यातकर्ताहरू अहिले सरकारको पहलको प्रतीक्षामा छन्। उनीहरूका अनुसार भारतीय अवरोध हटाउन नसकिए नेपालको प्रमुख नगदे बालीमध्ये एक चिया क्षेत्र गम्भीर संकटमा फस्नेछ, जसको सबैभन्दा ठूलो मार किसानले नै व्यहोर्नुपर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *