`

एमालेले ‘डिजिटल वार रुम’ सञ्चालन गर्ने(भिडियाे)

Nepal One HD ३१ जेठ २०८३ १३:५२
नेकपा एमाले

काठमाडाैं। नेकपा एमालेले पार्टीमाथि सामाजिक सञ्जालमार्फत बढ्दो आलोचना र डिजिटल आक्रमणको सामना गर्न २४ सै घण्टा सक्रिय रहने ‘डिजिटल वार रुम’ सञ्चालन गर्ने योजना अघि सारेको छ। पार्टीको ‘मिसन जागरण अभियान’ सम्बन्धी सर्कुलरमा अबको राजनीतिक प्रतिस्पर्धा केवल निर्वाचन क्षेत्र वा सार्वजनिक सभामा मात्र सीमित नरही ‘एटेन्सन इकोनोमी’ अर्थात् जनताको मोबाइल स्क्रिन र ध्यान केन्द्रित हुने डिजिटल क्षेत्रमा हुने निष्कर्ष एमालेले निकालेको हो ।

एमालेले आफू परम्परागत रूपमा ग्राउन्ड पोलिटिक्समा बलियो भए पनि सामाजिक सञ्जाल केन्द्रित ‘फिड पोलिटिक्स’मा अपेक्षाकृत कमजोर रहेको पनि स्वीकार गरेको छ। पार्टीका अनुसार अघिल्लो निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न नसक्नुमा डिजिटल माध्यमको प्रभावकारी प्रयोग गर्न नसक्नु, ढिलो प्रतिक्रिया दिनु तथा युवा पुस्तासँगको दूरी प्रमुख कारण थिए।

यही कमजोरी सुधार्न एमालेले र्‍यापिड रेस्पोन्स र एनालिटिक्स टिमसहितको डिजिटल वार रुम स्थापना गर्ने भएको हो। यसले सामाजिक सञ्जालमा उठ्ने विषयहरूको निगरानी, विश्लेषण तथा तत्काल प्रतिक्रिया दिने काम गर्नेछ। साथै युवामुखी सामग्री निर्माण, नेताहरूको मानवीय पक्ष उजागर गर्ने तथा स्थानीय तहका सफलताका कथालाई डिजिटल माध्यमबाट प्रचार गर्ने योजना पनि अघि सारिएको छ।

दस्तावेजमा एल्गोरिदम, पर्सेप्सन म्यानेजमेन्ट, इको च्याम्बर, रिपिटिसन, इमोसनल ट्रिगर र माइक्रो–टार्गेटिङ जस्ता डिजिटल रणनीतिहरू प्रयोग गर्ने उल्लेख छ। साथै सदस्यता वितरण, डाटाबेस व्यवस्थापन, प्रशिक्षण र जनसम्पर्कका कामलाई समेत पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी एमालेले गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *