`

जमदार फुडको कारोबार दिन दुई गुणा रात चौगुना 

Nepal One HD ३१ जेठ २०८३ १४:३४
अर्थ समाचार

काठमाडौं । सन् २०१९ मा स्थापना भएको जमदार फुडले छोटो समयमै नेपाली खाद्य बजारमा आफ्नो उपस्थिति तीव्र रूपमा विस्तार गरेको छ । 

कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब ४ करोड ६० लाख रुपैयाँको कारोबार गर्दै ठूलो व्यापारिक वृद्धि देखाएको छ ।

चामल, गहुँ, चिनी, पिठो, तेल, गेडागुडी, मसला, कोदो, दाल, ड्राई फ्रुट लगायतका खाद्य सामग्री उत्पादन गर्दै आएको कम्पनीको बजार विस्तार मुख्यतः स्वदेशी सुपरमार्केट तथा स्थानीय आउटलेटमार्फत भएको देखिन्छ ।

तर कारोबार वृद्धिको उत्साहजनक तथ्यसँगै कम्पनीको वित्तीय संरचनामा भने केही दबाब देखिएको छ । पछिल्ला वर्षहरूमा बिक्री तीव्र रूपमा बढे पनि नाफा मार्जिन घट्दै गएको तथ्यले कम्पनीको लागत व्यवस्थापन र ऋण संरचनामाथि प्रश्न उठाएको छ ।

सन् २०२३ मा २० करोड रुपैयाँको कारोबार गरेको कम्पनीले सन् २०२४ मा ६० करोड ५० लाख रुपैयाँ पुर्‍याएको थियो । त्यसपछि एकै वर्षमा कारोबार २ अर्बभन्दा माथि पुग्नु कम्पनीको तीव्र विस्तारको संकेत हो । चालु आर्थिक वर्षको ९ महिनामै कम्पनीले १ अर्ब ५४ करोड रुपैयाँ कारोबार गरिसकेको छ ।

यद्यपि नाफा दर भने दबाबमा देखिन्छ । गत आर्थिक वर्षमा नाफा मार्जिन ३.२३ प्रतिशतमा झरेको छ, जुन सन् २०२४ मा ५.०६ प्रतिशत थियो । खुद नाफा मार्जिन केवल ०.७७ प्रतिशत रहनु कम्पनीका लागि दीर्घकालीन चुनौतीको संकेत मानिएको छ ।

वित्तीय सूचकहरूमा पनि ऋणभार उच्च रहेको देखिन्छ । कम्पनीको गियरिङ अनुपात २.६५ गुणा रहेको छ, जसले ऋणको भार अझै उल्लेखनीय रहेको संकेत गर्छ । यद्यपि अघिल्लो वर्षको २.९८ गुणाबाट केही सुधार भए पनि कम्पनी अझै उच्च लिभरेजको अवस्थामा छ ।

ब्याज भुक्तानी क्षमता मध्यम स्तरमा रहेर १.७० गुणामा झरेको छ, जुन अघिल्लो वर्ष १.७६ गुणा थियो । यसले कम्पनीको आम्दानी वृद्धि भए पनि वित्तीय दबाब कायम रहेको देखाउँछ ।

नगद सञ्चिति अनुपात २१.६२ गुणामा घटेको छ। जुन सन् २०२४ मा ३५.८५ गुणा थियो । यद्यपि यसलाई अझै उच्च स्तरको तर घट्दो ट्रेन्डका रूपमा हेरिएको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ५० करोड रुपैयाँ बराबरको रेटिङ गराएको छ, जसले यसको विस्तार योजनासँगै वित्तीय जोखिम पनि जोडिएको संकेत दिन्छ । 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *