प्रधानमन्त्रीको अभिव्यक्तिले एसएसबी नेपाल पसेको वैज्ञानिक समाजवादी विद्यार्थी संगठनको आरोप[तस्बिरहरु]
काठमाडौं । वैज्ञानिक समाजवादी निकट विद्यार्थी संगठनले आइतबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। प्रदर्शनकारीहरूले प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसले नेपालको सीमासम्बन्धी विषयमा भ्रम सिर्जना गरेको आरोप लगाएका छन्।
प्रदर्शनका क्रममा विद्यार्थीहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई “साउथ फिल्मको दृश्यझैँ अचानक सदनमा प्रकट भएर दिइएको अभिव्यक्ति” भन्दै आलोचना गरे। उनीहरूले उक्त अभिव्यक्तिका कारण भारतीय सीमा सुरक्षा बल (एसएसबी) नेपालभित्र प्रवेश गरेको भन्ने सन्देश गएको दाबी गरेका छन्।
प्रदर्शनकारीहरूले राष्ट्रिय स्वाधीनता, सीमा सुरक्षालगायत विषयमा सरकार स्पष्ट हुनुपर्ने माग गर्दै सीमासम्बन्धी संवेदनशील विषयमा गैरजिम्मेवार अभिव्यक्ति नदिन चेतावनी दिएका छन्।
माइतीघरमा आयोजित प्रदर्शनका क्रममा सहभागीहरूले विभिन्न नाराबाजी गर्दै सरकारसँग सीमा अतिक्रमण तथा राष्ट्रिय हितका विषयमा स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेका थिए। प्रहरीले प्रदर्शनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराएको जनाएको छ।










