सेयरमा बैंकको लगानी कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले सेयर धितोमा प्रवाह गर्ने कर्जा उल्लेख्य रूपमा विस्तार गरेका छन् ।
पछिल्लो एक वर्षमा मात्रै बैंकहरूको सेयर कर्जा झन्डै ३६ अर्ब रुपैयाँले बढेको छ, जसले बैंकिङ क्षेत्रको पुँजी बजारप्रतिको आकर्षण झन् बलियो बनेको संकेत गरेको छ ।
नेपाल राष्ट्र बैंकको वैशाख मसान्तसम्मको तथ्यांकअनुसार १९ वाणिज्य बैंकले सेयर धितोमा कुल १ खर्ब ३९ अर्ब ६२ करोड ५३ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा यो रकम १ खर्ब ३ अर्ब १३ करोड ७७ लाख रुपैयाँ थियो । एक वर्षको अन्तरालमा सेयर कर्जा ३५.३८ प्रतिशतले वृद्धि भएको हो ।
सेयर धितो कर्जामा सबैभन्दा ठूलो हिस्सा नबिल बैंकको रहेको छ । बैंकले वैशाखसम्म १७ अर्ब ६८ करोड ६२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्षको तुलनामा यसको कर्जा पोर्टफोलियो २१ प्रतिशतभन्दा बढीले विस्तार भएको हो ।
ग्लोबल आइएमई बैंक सेयर कर्जा प्रवाहमा दोस्रो स्थानमा देखिएको छ । बैंकले १४ अर्ब ४६ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा लगानी गरेको छ । एक वर्षअघि यस्तो कर्जा ११ अर्ब ५९ करोड रुपैयाँ हाराहारीमा थियो ।
कुमारी बैंक पनि सेयर कर्जा विस्तारमा अगाडि देखिएको छ । बैंकले वैशाखसम्म १० अर्ब ९१ करोड ६९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १४ प्रतिशतले बढी हो ।
राष्ट्र बैंकको तथ्यांकले अधिकांश बैंकहरू सेयर बजारसँग जोडिएको कर्जा विस्तारमा सक्रिय देखिए पनि केही बैंकले भने सावधानी अपनाएको संकेत गरेको छ । समीक्षा अवधिमा १६ बैंकको सेयर कर्जा बढ्दा नेपाल बैंक, सिटिजन्स बैंक इन्टरनेसनल र नेपाल एसबीआई बैंकको कर्जा घटेको छ ।
नेपाल बैंकको सेयर कर्जा १३.८९ प्रतिशतले घटेको छ भने सिटिजन्स बैंकको १४.७२ प्रतिशत र नेपाल एसबीआई बैंकको ७.३३ प्रतिशतले कमी आएको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने सेयर धितो शीर्षकमा कुनै कर्जा प्रवाह नगरेको तथ्यांकमा उल्लेख छ ।
कर्जा वृद्धिदरको हिसाबले कृषि विकास बैंक सबैभन्दा अगाडि देखिएको छ । बैंकको सेयर धितो कर्जा एक वर्षमै १५६.१६ प्रतिशतले बढेको छ । यसले बैंकहरूले पुँजी बजारसम्बन्धी कर्जा विस्तारमा नयाँ रणनीति अपनाइरहेको संकेत गरेको छ ।
सेयर बजारमा लगानीकर्ताको सक्रियता बढ्दै जाँदा बैंकहरूले पनि त्यसलाई अवसरका रूपमा लिएको देखिन्छ।
पछिल्ला महिनाहरूमा बजारमा देखिएको सुधार र कारोबार वृद्धिले बैंकहरूलाई सेयर धितो कर्जा विस्तार गर्न थप उत्साहित बनाएको विश्लेषण गरिएको छ ।
कसले कति दिए सेयर लोन ?

