`

लामिछानेलाई एमालेको प्रश्न : ‘मिचिएको नेपाली भूमि फिर्ता ल्याउन सक्दिन भन्न खोजेको हो?’

Nepal One HD १ असार २०८३ ११:३०
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिबारे स्पष्ट पार्न आग्रह गरेको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले लामिछानेको भनाइप्रति आपत्ति जनाउँदै राष्ट्रिय स्वाधीनता र सीमा समस्याजस्ता विषयमा रास्वपाको धारणा प्रस्ट हुनुपर्ने बताइन्।

अर्यालले भारत भ्रमणका क्रममा लामिछानेले ‘विगतका बोझ बोक्न चाहन्नौँ’ भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यसको आशय के हो भन्ने प्रश्न उठाइन्। उनले उक्त अभिव्यक्तिले नेपाल–भारतबीच रहेका सीमा विवाद र नेपाली भूमि फिर्ता ल्याउने विषयलाई कमजोर बनाउने संकेत गरेको हो कि भन्ने आशंका व्यक्त गरिन्।

‘रास्वपा सभापति रवि लामिछानेले भारतमा गएर विगतका बोझ बोक्न चाहन्नौँ भन्नुको अर्थ के हो ? के मिचिएको नेपाली भूमि फिर्ता ल्याउन सक्दिन भन्न खोजिएको हो ?’ अर्यालले संसद्मा प्रश्न गरिन्।

उनले राष्ट्रिय हित, स्वाधीनता र भौगोलिक अखण्डताका विषयमा सबै राजनीतिक दल स्पष्ट र जिम्मेवार हुनुपर्ने धारणा राखिन्। नेपालको भूमि, सीमा र राष्ट्रिय हितसँग सम्बन्धित विषय कुनै पनि दल वा नेताको व्यक्तिगत दृष्टिकोणभन्दा माथिको विषय भएको उनको भनाइ थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *