ब्रेक अप भयो ? प्रयोग गर्नुहोस् फेसबुकको ‘टेक अ ब्रेक’ फिचर
काठमाडौं। सामान्यतः फेसबुक अकाउन्ट व्यक्तिगत प्रयोगका लागि बनाइन्छ, जहाँ प्रयोगकर्ताहरू आफ्ना आफन्त, साथीभाइ र नजिकका व्यक्तिसँग जोडिन्छन्।
तर समयसँगै केही यस्ता सम्बन्धहरू पनि बन्न सक्छन्, जसका पोस्ट वा गतिविधि प्रयोगकर्तालाई मन नपर्न सक्छन्। यस्तो अवस्थामा धेरैले उनीहरूलाई अनफलो गर्ने गर्छन्।
तर अनफलो गरे पनि समस्या पूर्ण रूपमा समाधान नहुने अवस्था रहन्छ। सम्बन्धित व्यक्तिले कुनै पोस्टमा रियाक्ट वा कमेन्ट गरेमा त्यस्ता सामग्री फेरि पनि प्रयोगकर्ताको फिडमा देखिन सक्छ, जसले डिजिटल स्पेसमा असहजता कायम राख्न सक्छ।
विशेषगरी ब्रेकअप, व्यक्तिगत विवाद वा सम्बन्धमा दूरी बढेको अवस्थामा यस्तो अवस्था अझ संवेदनशील बन्न सक्छ। अनफ्रेन्ड वा ब्लक गर्न अप्ठ्यारो लाग्ने र अनफलो गर्दा पनि निरन्तर पोस्ट देखिने समस्या बीच फेसबुकले ‘टेक अ ब्रेक’ नामक सुविधा उपलब्ध गराएको छ।
मेटाका अनुसार यो फिचर प्रयोगकर्ताको गोपनीयता र मानसिक स्वास्थ्यलाई ध्यानमा राखेर डिजाइन गरिएको हो। यसको प्रयोगमार्फत कुनै व्यक्तिसँग सम्बन्ध नतोडी नै उनीहरूको पोस्ट, अन्तरक्रिया र दृश्यता नियन्त्रण गर्न सकिन्छ।
यो फिचर प्रयोग गर्दा फेसबुकले मुख्य तीन प्रकारका विकल्प उपलब्ध गराउँछ। पहिलो, सम्बन्धित व्यक्तिका पोस्ट र गतिविधि फिडमा कम देखिने बनाइन्छ। यसले उनीहरूका पोस्ट, ट्याग गरिएका सामग्री तथा सम्बन्धित अपडेटहरू न्युज फिडमा देखिन रोक्छ। साथै उनीहरूसँग हुने अन्तरक्रिया सुझावहरू पनि घटाइन्छ।
दोस्रो, प्रयोगकर्ताले आफ्ना पोस्ट र गतिविधि सम्बन्धित व्यक्तिबाट लुकाउन सक्छन्। यस अवस्थामा ती व्यक्ति ‘रेस्ट्रिक्टेड’ सूचीमा पर्नेछन् र उनीहरूले केवल पब्लिक पोस्ट वा आफूलाई ट्याग गरिएको सामग्री मात्र देख्न पाउँछन्।
तेस्रो, अघिल्ला अन्तरक्रियाहरू जस्तै ट्याग, पोस्ट वा शेयर गरिएका सामग्रीलाई व्यवस्थापन गर्न सकिन्छ। जसले पुराना सम्बन्धित सामग्रीलाई नियन्त्रण गर्न सहयोग पुर्याउँछ।
यो फिचरको सबैभन्दा महत्वपूर्ण पक्ष यसको गोपनीयता हो। ‘टेक अ ब्रेक’ प्रयोग गरिएको कुरा सम्बन्धित व्यक्तिलाई कुनै पनि रूपमा जानकारी दिइँदैन। फेसबुकले पनि यसको बारेमा नोटिफिकेसन पठाउँदैन, जसले प्रयोगकर्तालाई सामाजिक सम्बन्ध नबिगारीकन मानसिक रूपमा सहज रहने वातावरण प्रदान गर्छ।
यसरी, डिजिटल सम्बन्धलाई पूर्ण रूपमा तोड्नु नपरी आफ्नै सहजताअनुसार नियन्त्रण गर्ने आधुनिक विकल्पका रूपमा ‘टेक अ ब्रेक’ फिचरलाई उपयोगी मानिएको छ।
