`

भारतको नयाँ एसओपीले इलामका ८३ चिया उद्योग बन्द, कूटनीतिक पहलको माग

Nepal One HD ३ असार २०८३ १२:५२
अर्थ समाचार

काठमाडौं। नेपाली कांग्रेसका सचेतक निश्कल राईले चिया उद्योगले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिँदै आए पनि राज्यको नीतिगत र कूटनीतिक कमजोरीका कारण क्षेत्र संकटमा परेको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले हालको अवरोधले उत्पादनदेखि निर्यातसम्मको सम्पूर्ण चक्र प्रभावित भएको बताएका हुन्।

उनका अनुसार भारत सरकारले लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर (एसओपी)’ का कारण इलामका ८३ वटा चिया उद्योग पछिल्ला तीन दिनदेखि पूर्ण रूपमा बन्द भएका छन्।

नयाँ व्यवस्थाअनुसार चियाको गुणस्तर परीक्षण रिपोर्ट आउन कम्तीमा दुई साताभन्दा बढी समय लाग्ने र उक्त रिपोर्ट प्राप्त नभएसम्म चिया बिक्री तथा निर्यात गर्न नपाइने प्रावधानले उद्योग सञ्चालन कठिन बनेको उनले बताए।

राईले यो अवस्थाका कारण प्रशोधनका लागि तयार रहेको हरियो चियापत्ती समेत समयमै प्रशोधन हुन नपाई खेर जाने जोखिम बढेको संसदमा उल्लेख गरे।

उद्योग बन्द हुँदा किसानको आम्दानी प्रत्यक्ष प्रभावित भएको, मजदुरको रोजगारी गुमेको तथा उद्योगीहरू बैंक ऋण र ब्याज भुक्तानी गर्न नसक्ने आर्थिक दबाबमा परेको उनको भनाइ छ।

उनले समस्यालाई केवल व्यापारिक चुनौतीका रूपमा नहेरी तत्काल उच्चस्तरीय कूटनीतिक पहलमार्फत समाधान गर्न सरकारलाई आग्रह गरेका छन्।

भारतसँग प्रभावकारी संवाद गरी चिया निर्यात सहज बनाउनुपर्ने तथा नेपालमै अन्तर्राष्ट्रिय स्तरको चिया परीक्षण प्रयोगशाला स्थापना गर्नुपर्ने आवश्यकता उनले औँल्याए।

त्यसैगरी, नेपाली चियाको दीर्घकालीन बजार विस्तारका लागि तेस्रो मुलुकसँग व्यापारिक पहुँच विस्तार गर्न सरकार सक्रिय हुनुपर्ने उनको माग छ।

राईले समयमै समाधान नभए यसले ग्रामीण अर्थतन्त्र, रोजगारी र निर्यात आम्दानीमा दीर्घकालीन असर पार्ने चेतावनीसमेत दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *