तेलको मूल्य तीन महिनाकै सबैभन्दा कम
एजेन्सी। अमेरिका र इरानबीच प्रारम्भिक सम्झौता भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य निरन्तर घटिरहेको छ। पछिल्लो गिरावटसँगै कच्चा तेलको मूल्य तीन महिनाकै न्यून स्तरमा पुगेको छ।
मिडिया रिपोर्टअनुसार मंगलबार ब्रेन्ट क्रुड तेलको मूल्य २.४ प्रतिशतले घटेर प्रतिब्यारेल ८१.१५ अमेरिकी डलरमा झरेको छ। कारोबारका क्रममा यो ८०.८९ डलरसम्म पुगेको थियो, जुन मार्च ४ पछिको सबैभन्दा कम स्तर हो।
त्यसैगरी अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटिआई) क्रुड २.८ प्रतिशतले घटेर ७८.५३ डलर प्रति बैरलमा पुगेको छ। कारोबारका क्रममा यो ७८.२७ डलरसम्म झरेको थियो, जुन मार्च १० पछिको न्यूनतम स्तर हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने उद्देश्यसहित अन्तरिम सम्झौता भएको घोषणा गरेका थिए। त्यसपछि सोमबार मात्रै तेलको मूल्य करिब ५ प्रतिशतले घटेको थियो।
विश्लेषकहरूका अनुसार होर्मुज जलडमरू पुनः सहज रूपमा सञ्चालन हुने सम्भावनाले विश्वव्यापी तेल आपूर्तिमा अवरोध नआउने अपेक्षा बढेको छ।
यही कारण लगानीकर्ताको विश्वास बढेसँगै कच्चा तेलको मूल्यमा निरन्तर दबाब परेको बताइएको छ।
