झलनाथले किन मागे प्रचण्ड-माधवको राजीनामा ?
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाललाई पद छाडेर मार्गप्रशस्त गर्न आग्रह गरेका छन्।
उनले ३६ बुँदे असन्तुष्टि पत्र बुझाउँदै वर्तमान नेतृत्व पार्टी सञ्चालनमा असफल भएको आरोप लगाएका हुन्।
खनालले पार्टीको वर्तमान अवस्था चिन्ताजनक रहेको उल्लेख गर्दै यही नेतृत्वमा पार्टीलाई राष्ट्रिय महाधिवेशनसम्म व्यवस्थित रूपमा पुर्याउन समेत कठिन हुने बताएका छन्। उनले संयोजक र सहसंयोजकले विशेष बैठक बोलाएर नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाउनुपर्ने सुझाव दिएका छन्।
पत्रमा उनले लेखेका छन्, ‘यस्तो अवस्थामा पार्टी महाधिवेशनसम्म पार्टीलाई व्यवस्थित रूपले पुर्याउनु नै गाह्रो छ। त्यसो हुँदा संयोजक र सहसंयोजकले विशेष बैठक बोलाएर मार्गप्रशस्त गर्नोस्। नयाँ, योग्य र विचारवान नेतालाई संयोजक निर्वाचित गर्न कमिटीलाई अधिकार दिनोस् र त्यसले महाधिवेशनको तयारी अघि बढाओस्।’
खनालले विगतमा नेकपा एकतापछि अपनाइएको ‘दुई पाइलट’ मोडेलको स्मरण गर्दै त्यही संरचनाले पार्टीलाई विभाजन र संकटतर्फ धकेलेको दाबी गरेका छन्। अहिले पनि संयोजक र सहसंयोजकको व्यवस्था गरेर उही गल्ती दोहोर्याइएको उनको टिप्पणी छ।
उनले २६ वटा घटकलाई एकीकृत गरेर नयाँ पार्टी घोषणा गरिए पनि नेतृत्व संरचना पुरानै शैलीमा बनाइएको भन्दै प्रश्न उठाएका छन्। ‘यो फेरि त्यही दुई पाइलटको अर्को संस्करण हो ?’ भन्दै उनले नेतृत्वको औचित्यमाथि नै प्रश्न गरेका छन्।
खनालले एकै पार्टीमा संयोजक र सहसंयोजकको व्यवस्था किन आवश्यक परेको हो भन्ने स्पष्ट जवाफ कार्यकर्ताले खोजिरहेको उल्लेख गरेका छन्। उनले महाधिवेशनपछि पनि यस्तै शक्ति बाँडफाँटको अभ्यास दोहोरिने हो भने कार्यकर्ताले स्वीकार नगर्ने चेतावनी दिएका छन्।
पत्रमा उनले पार्टी अहिले दिशाहीन अवस्थामा पुगेको आरोप लगाउँदै ‘बल्छीमा परेको माछाजस्तो’ अवस्थामा रहेको टिप्पणी गरेका छन्। नेतृत्वले समयमै आत्मसमीक्षा नगरे पार्टी थप संकटतर्फ जाने उनको निष्कर्ष छ।
खनालको यो पत्र सार्वजनिक भएसँगै पार्टीभित्र नेतृत्व, संगठन संरचना र आगामी महाधिवेशनको तयारीलाई लिएर नयाँ बहस सुरु भएको छ।
प्रचण्ड र माधव नेपालको नेतृत्वप्रति असन्तुष्टि खुला रूपमा व्यक्त गर्ने खनाल पहिलो शीर्ष नेता बनेका छन्।
