चिया उद्योग संकटमा पर्दा बालेन सरकार उदासिन : भीष्मराज आङ्देम्बे
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेपाली चिया उद्योग गम्भीर संकटमा पर्दासमेत सरकार प्रभावकारी रूपमा अघि नबढेको आरोप लगाएका छन्।
आङ्देम्बेले भारतले गुणस्तर परीक्षणको नाममा नेपाली चियाको निर्यातमा अवरोध सिर्जना गरेपछि देशका प्रमुख चिया उद्योगहरू धमाधम बन्द हुने अवस्थामा पुगेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। उनका अनुसार इलामका ८० भन्दा बढी चिया उद्योग बन्द भइसकेका छन् भने झापा लगायत पूर्वी नेपालका अन्य जिल्लाका उद्योगहरू पनि संकटमा परेका छन्।
उनले करिब ११ लाख किलो तयारी चिया गोदाममै थन्किएको, किसानले उत्पादनको उचित मूल्य नपाएको र हजारौं मजदुर तथा उद्यमीको भविष्य अन्योलमा परेको बताए। वार्षिक करिब १४ अर्ब रुपैयाँ बराबरको निर्यात गर्ने चिया क्षेत्र संकटमा पर्दासमेत सरकारले ठोस कूटनीतिक पहल नगरेको उनको आरोप छ।
आङ्देम्बेले चिया उद्योगको समस्या उद्योगीहरूको मात्र नभई राष्ट्रिय अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको विषय भएको बताए। उद्योगहरू बन्द हुँदै जाँदा निर्यात घट्ने, वैदेशिक मुद्रा आर्जनमा असर पर्ने र बेरोजगारी बढ्ने खतरा रहेको उनको भनाइ छ।
उनले भारतीय पक्षसँग तत्काल उच्चस्तरीय कूटनीतिक वार्ता गरी निर्यातमा देखिएको अवरोध हटाउन सरकारलाई आग्रह गरेका छन्। साथै प्रभावित उद्योग, किसान र मजदुरका लागि राहत तथा संरक्षणका कार्यक्रम ल्याउन पनि सरकारसँग माग गरेका छन्।
‘चिया उद्योग अहिले गम्भीर संकटमा छ। सरकारले समयमै प्रभावकारी कूटनीतिक पहल नगरेको कारण हजारौं किसान र मजदुरको जीविकोपार्जन जोखिममा परेको छ। सरकार अझै पनि उदासिन देखिनु दुर्भाग्यपूर्ण हो,’ नेता आङ्देम्बेले बिहीबार स्टाटस लेखेका छन् ।
समयमै समस्या समाधानका लागि पहल नगरे चिया उद्योग थप संकटमा फस्ने र त्यसको प्रत्यक्ष असर राष्ट्रिय अर्थतन्त्रमा पर्ने आङ्देम्बेको चेतावनी छ। उनले चिया क्षेत्र जोगाउन सरकार गम्भीर र जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याएका छन्।
