`

नेप्से ५ अंकले घट्यो, कारोबार रकम ३ अर्ब ४१ करोडमा सीमित

Nepal One HD ४ असार २०८३ १५:३७
अर्थ समाचार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार सामान्य अंकले घटेर बन्द भएको छ। यस दिन नेप्से ५.०६ अंकले घट्दै २७००.४७ विन्दुमा पुगेको हो।

कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। बुधबार ३ अर्ब ६३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार ३ अर्ब ४१ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

यस दिन ३४७ वटा धितोपत्रका ७७ लाख ४३ हजार ३० कित्ता सेयर कारोबार भएका छन्। कारोबारमा सहभागी कम्पनीमध्ये ७७ वटाको सेयर मूल्य बढेको छ भने १८१ वटाको मूल्य घटेको छ। १४ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

बिहीबार एपोलो हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १५ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य बढेर ७९६ रुपैयाँ ६० पैसा पुगेको छ। त्यस्तै, सोपान फर्मास्युटिकल्सको सेयर मूल्य १४.९९ प्रतिशतले बढ्दै प्रतिकित्ता ९२९ रुपैयाँ ७० पैसा कायम भएको छ।

उता, सर्वाधिक मूल्य घट्नेमा प्रभु बैंक डिबेन्चर रहेको छ। उक्त डिबेन्चरको मूल्य ५.५४ प्रतिशतले घटेर प्रतिकित्ता १ हजार ७५ रुपैयाँमा झरेको छ। त्यसैगरी, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्डको मूल्य ४.९५ प्रतिशतले घटेर प्रतिइकाइ १० रुपैयाँ ६० पैसामा सीमित भएको छ।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनी अग्रस्थानमा रहेको छ। कम्पनीको ३१ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। प्रतिकित्ता मूल्य ३८१ रुपैयाँ कायम भएको उक्त कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ४.०१ प्रतिशतले बढेको हो।

यस्तै, युनाइटेड मोदी हाइड्रोपावर दोस्रो सर्वाधिक कारोबार हुने कम्पनी बनेको छ। कम्पनीको २३ करोड ५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ भने प्रतिकित्ता मूल्य ६०८ रुपैयाँ कायम भएको छ।

समूहगत परिसूचकतर्फ कारोबारमा आएका १३ समूहमध्ये ५ समूहको परिसूचक बढेको छ भने बाँकी ८ समूहको परिसूचक ओरालो लागेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *