महाधिवेशनमा ४ करोडले के-के गर्दैछ रास्वपा ?
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न करिब ४ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ।
पार्टी सचिवालय बैठकपछि निर्णय सार्वजनिक गर्दै महामन्त्री कविन्द्र बुर्लाकोटीले महाधिवेशनको आर्थिक व्यवस्थापनबारे जानकारी दिएका हुन्।
उनका अनुसार महाधिवेशनका लागि आवश्यक रकम प्रतिनिधिबाट संकलन गरिने दर्ता शुल्क, पार्टी सदस्यहरू तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगमार्फत जुटाइनेछ।
पार्टीले विभिन्न स्रोतबाट प्राप्त हुने सहयोगका आधारमा आवश्यक खर्च व्यवस्थापन गर्न सकिने विश्वास व्यक्त गरेको छ।
महाधिवेशन व्यवस्थापनका लागि सेवा तथा सामग्री उपलब्ध गराउने विभिन्न सेवा प्रदायक संस्थासँग सहुलियतका विषयमा छलफल भइरहेको पनि बुर्लाकोटीले बताए। केही संस्थाले नाफा नलिई वा न्यूनतम शुल्कमा सेवा दिन इच्छा व्यक्त गरेको जानकारी उनले दिए।
विशेषगरी क्याटरिङजस्ता खर्चिलो क्षेत्रका व्यवसायीहरूले लागत मूल्यमा मात्रै सेवा उपलब्ध गराउने प्रस्ताव गरेका कारण खर्च व्यवस्थापनमा सहजता आउने अपेक्षा गरिएको छ। पार्टीका अनुसार यस्ता सहयोग र सहकार्यले महाधिवेशनको आर्थिक भार कम गर्न मद्दत पुग्नेछ।
महामन्त्री बुर्लाकोटीले पार्टीका कार्यकर्ता, सदस्य तथा शुभेच्छुकहरूबाट देखिएको उत्साहले पनि महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न सकिने आधार तयार भएको बताए। उनले आवश्यक स्रोत जुटाउन पार्टी आशावादी रहेको उल्लेख गरे।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन असार ७ देखि ९ गतेसम्म भरतपुर मा आयोजना हुँदैछ।
