निजी क्षेत्र र सेयर बजार मार्कामा : बजेटबाट उत्साहित भएको चाहिँ को?
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सचेतक तथा सांसद खुुश्बु ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले कुनै पनि क्षेत्रलाई उत्साहित बनाउन नसकेको टिप्पणी गरेकी छन्।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बजेट सार्वजनिक भएलगत्तै सेयर बजारमा तीव्र गिरावट आएको र अहिले पनि त्यसको असर कायम रहेको भन्दै सरकारको आलोचना गरिन्।
उनका अनुसार बजेटले अर्थतन्त्रमा सकारात्मक सन्देश दिनुको सट्टा नकारात्मक प्रभाव पारेको देखिएको छ।
सांसद ओलीले सामान्यतया बजेटले बजारलाई केही न केही सकारात्मक संकेत दिनुपर्ने भए पनि यसपटक त्यसो हुन नसकेको बताइन्। उनले भनिन्, ‘बजेट वक्तव्य सार्वजनिक हुनेसाथ सेयर बजारमा तीव्र गिरावट देखियो, जुन आजका दिनसम्म कायम नै छ । बजार थप घट्दैछ।’ उनका अनुसार अहिले लगानीकर्ता निराश छन् र बजारमा विश्वासको वातावरण कमजोर बनेको छ।
उनले थप रूपमा उद्योग क्षेत्र पनि उत्साहित नभएको र निजी क्षेत्र तथा सेयर बजार दुवैतर्फ आत्मविश्वास घटेको बताइन्। ‘आज उद्योग क्षेत्र उत्साहित छैन, सेयर बजार र निजी क्षेत्रमा पनि उत्साह छैन । लगानीकर्तामा आत्मविश्वासको ठूलो कमी देखिएको छ,’ उनले भनिन्।
अन्त्यमा उनले सरकार, अर्थमन्त्री र प्रधानमन्त्रीलाई समेत लक्षित गर्दै प्रश्न उठाइन्। बजेटको प्रभावकारितामाथि प्रश्न गर्दै उनले भनिन्, ‘यस्तो अवस्थामा मेरो सरकारसँग, विशेषगरी अर्थमन्त्रीज्यू र प्रधानमन्त्रीज्यूसँग प्रत्यक्ष प्रश्न छ, आखिर यो बजेटबाट उत्साहित भएको चाहिँ को हो ?’
