`

आफ्नै बारेमा च्याटजीपीटीले गलत भनेपछि माधव कुमार नेपाल जिल्ल

Nepal One HD ६ असार २०८३ १२:४८
प्रमुख खबर

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजकले पार्टीभित्रको तथ्यांक व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रविधिको प्रयोग अपरिहार्य रहेको बताएका छन्।

शुक्रबार पेरिसडाँडामा आयोजित पार्टी सदस्यता नवीकरण तथा वितरण अभियानको शुभारम्भ कार्यक्रममा उनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र डिजिटल प्रणालीबारे आफ्नो अनुभवसहित धारणा राखेका हुन्।

कार्यक्रमका क्रममा उनले च्याटजीपीटीसँगको आफ्नै अनुभव उल्लेख गर्दै एआईले जानकारी दिन सक्ने तर कहिलेकाहीँ त्रुटि पनि गर्न सक्ने बताए। उनले भने, ‘यो अहिले एउटा जीपीटी आएको रहेछ। मलाई त थाहा थिएन। च्याटजीपीटी चलाएको, सोधेँ म को हुँ, थाहा छ? फ्याट फ्याट फ्याट फ्याट बताउन थाल्यो। बताएको त गल्ती बताएको छ।’

उनका अनुसार गलत जानकारी आएपछि त्यसबारे प्रश्न गर्दा प्रणालीले समेत सुधार गर्ने प्रतिक्रिया दिएको अनुभव उनले सुनाए। उनले थपे, ‘तिमीले मेरो दुई वटा छोरा छ भन्यौ। एउटा छोरा, एउटा छोरी भएकोमा दुइटै छोरा हो? अनि गल्ती भयो गल्ती भयो, गल्ती भयो म करेक्सन गर्छु करेक्सन गर्छु भन्यो।’

उनले सही तथ्यांक उपलब्ध गराइयो भने एआईले उपयोगी विश्लेषण गर्न सक्ने उल्लेख गर्दै भने, ‘त्यसलाई पनि ठीकठिक तथ्यांक दियो भने, उसले ठीक विवरण राख्न सक्दछ। ठीक विश्लेषण गर्न सक्दछ।’

पार्टीको सूचना व्यवस्थापनबारे बोल्दै उनले आधुनिक प्रविधि प्रयोग गरी अभिलेख प्रणाली विकास गर्नुपर्ने आवश्यकता औंल्याए। उनले भने, ‘त्यसो हुनाले सबै विवरणहरू पार्टीको आर्काइभमा राख्नका लागि, पार्टीको यो डाटा सेन्टरमा राख्नका लागि यो आवश्यक पनि छ।’

उनका अनुसार प्रत्येक सदस्यको विवरण व्यवस्थित रूपमा संकलन गर्न प्रविधिमा दक्ष जनशक्ति आवश्यक छ। साथै सूचना तथा सञ्चार प्रविधिबारे प्रशिक्षण र प्रयोगलाई विस्तार गर्नुपर्नेमा उनले जोड दिए।

उनले आर्टिफिसियल इन्टेलिजेन्स र डिजिटल प्रणालीको प्रयोगले संगठनात्मक कामलाई थप प्रभावकारी, छरितो र व्यवस्थित बनाउन सकिने विश्वास व्यक्त गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *