वर्षासँगै यसरी सुरु भयो रास्वपाको महाधिवेशन [तस्वीरहरू]
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन आइतबार चितवनको भरतपुरमा औपचारिक रूपमा सुरु भएको छ।
पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहले संयुक्त रूपमा घण्टी बजाएर महाधिवेशनको उद्घाटन गरेका हुन्।
महाधिवेशनको उद्घाटन सत्र महामन्त्री कबिन्द्र बुर्लाकोटीले सञ्चालन गरेका थिए। उद्घाटन कार्यक्रम चलिरहेकै बेला वर्षा भएपछि केहीबेर कार्यक्रमस्थलमा छाता ओढ्ने र ओत खोज्ने अवस्था बनेको थियो। रास्वपाका नेताहरूले भने वर्षालाई शुभ संकेत र सकारात्मक सन्देशका रूपमा व्याख्या गरेका छन्।
भरतपुरस्थित महाधिवेशनस्थलमा देशभरबाट आएका प्रतिनिधि, पार्टी कार्यकर्ता, शुभेच्छुक तथा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको उल्लेख्य उपस्थिति रहेको छ।
उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सीके राउतलगायतका नेताहरू सहभागी भएका छन्।
रास्वपाको स्थापना भएपछि पहिलो पटक आयोजित यो महाधिवेशनलाई पार्टीको भावी राजनीतिक दिशा निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
महाधिवेशनमा संगठन विस्तार, राजनीतिक रणनीति, नेतृत्व चयन र विधान कार्यान्वयनसँग सम्बन्धित विषयमा छलफल हुने कार्यक्रम रहेको छ।
महाधिवेशन तीन दिनसम्म सञ्चालन हुनेछ। यसबाट पार्टीको नयाँ नेतृत्व चयन गरिनेछ। यसअघि रास्वपाले विधान संशोधन गरी नयाँ संगठनात्मक संरचना तय गरिसकेको छ।
संशोधित विधानअनुसार अब पार्टीमा १९ पदाधिकारीसहित १५८ सदस्यीय केन्द्रीय कार्यसमिति रहने व्यवस्था गरिएको छ। महाधिवेशनले यही संरचनाअनुसार नयाँ नेतृत्व चयन गर्नेछ।


















