`

कमला रोलिङ मिल्स : कति भयो कारोबार ?

Nepal One HD ८ असार २०८३ १२:४२
अर्थ समाचार

काठमाडौं। कमला रोलिङ मिल्सले पछिल्ला वर्षहरूमा कारोबार, नाफा र कर्जाको संरचनामा मिश्रित वित्तीय अवस्था देखाएको छ। कम्पनीको चालु आर्थिक वर्षको ९ महिनामा ८८ करोड ३० लाख रुपैयाँको कारोबार भएको हो।

गत आर्थिक वर्षमा कम्पनीले १ अर्ब ४६ करोड ७० लाख रुपैयाँ कारोबार गरेको थियो। त्यसअघि सन् २०२४ मा १ अर्ब ४४ करोड २० लाख, सन् २०२३ मा २ अर्ब ८४ करोड ३० लाख र सन् २०२२ मा २ अर्ब ७१ करोड रुपैयाँ कारोबार भएको तथ्यांकले देखाउँछ।

कम्पनीले सञ्चालन नाफा मार्जिनतर्फ भने सुधार देखाएको छ। चालु आर्थिक वर्षको ९ महिनामा २ करोड १० लाख रुपैयाँ सञ्चालन नाफा भएको छ। गत आर्थिक वर्षमा ३ करोड ४० लाख रुपैयाँ सञ्चालन नाफा भएको थियो भने सन् २०२४ मा ३ करोड ५० लाख रुपैयाँ सञ्चालन घाटा रहेको थियो।

तर खुद नाफामा भने निरन्तर गिरावट देखिएको छ। सन् २०२४ मा ९ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत आर्थिक वर्षमा ३ करोड १० लाख रुपैयाँमा झरेको थियो। चालु आर्थिक वर्षको ९ महिनामा यो नाफा अझ घटेर ९० लाख रुपैयाँमा सीमित भएको छ।

नगद प्रवाह भने सुधारतर्फ देखिएको छ। सन् २०२४ मा नकारात्मक रहेको कुल नगद सञ्चय गत आर्थिक वर्षमा ६० लाख रुपैयाँ पुगेको थियो भने चालु आर्थिक वर्षको ९ महिनामा यो बढेर २ करोड रुपैयाँ पुगेको छ।

कर्जाको भार भने क्रमशः घट्दै गएको छ। सन् २०२४ मा १ अर्ब २४ करोड ८० लाख रुपैयाँ रहेको ऋण गत आर्थिक वर्षमा घटेर ९७ करोड १० लाख रुपैयाँ पुगेको थियो। चालु आर्थिक वर्षको ९ महिनामा यो थप घटेर ४० करोड ४० लाख रुपैयाँमा सीमित भएको छ।

यससँगै कम्पनीको वित्तीय सूचकहरूमा सुधार देखिएको छ। गियरिङ अनुपात सन् २०२४ को १.३२ गुणाबाट घटेर चालु आर्थिक वर्षमा ०.४५ गुणा पुगेको छ। त्यस्तै बाह्य दायित्व र ट्यान्जिबल नेटवर्थ अनुपात पनि ०.५१ गुणामा झरेको छ।

ब्याज तिर्ने क्षमता (ब्याज कवरेज अनुपात) सन् २०२४ को कमजोर अवस्थाबाट सुधार हुँदै १.४७ गुणामा पुगेको छ भने ऋण सेवा कवरेज अनुपात पनि उल्लेख्य सुधारसहित सन्तुलित अवस्थामा देखिएको छ।

सन् १९९२ मा विशाल ग्रुपद्वारा स्थापना गरिएको यो कम्पनीले टीएमटी बार, जीआई वायर, बार्बेड वायर र ग्याल्भनाइज्ड बक्स उत्पादन गर्दै आएको छ। कम्पनीको उत्पादन क्षमता वार्षिक करिब ८० हजार मेट्रिक टन रहेको छ र यसको उत्पादन ‘कमला गोल्ड थर्मेक्स’ ब्रान्डमा बजारमा उपलब्ध छ।

दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कम्पनीले करिब २ अर्ब ४२ करोड ५० लाख रुपैयाँ बराबरको क्रेडिट रेटिङ गराएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *