‘प्रथम पाँचथर जिल्ला तेक्वान्दाे च्याम्पियनसिप’काे खर्च विवरण सार्वजनिक छिट्टै
पाँचथर । नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिति पाँचथरले प्रथम पाँचथर जिल्ला तेक्वान्दाे च्याम्पियनसिप-२०८३ को आय-व्यय विवरण छिट्टै सार्वजनिक गर्ने जनाएको छ।
संघले बुधबार धन्यवाद तथा आभार ज्ञापन जारी गर्दै प्रतियोगिता सञ्चालनका लागि विभिन्न दाताबाट प्रतिबद्धता भएकाे रकम संकलन भएपछि खर्च विवरण सार्वजनिक गरिने जानकारी दिएको हो।
संघका अध्यक्ष सन्ताेष श्रेष्ठका अनुसार प्रतियोगिता आयोजना गर्न सहयोग गर्ने मुख्य प्रबर्द्धक र सबै दाता, संघसंस्था, व्यवसायी तथा सरोकारवालामाझ प्रतियाेगिताकाे पारदर्शिता कायम गर्न आय-व्यय विवरण सार्वजनिक गर्न लागिएको हो।
फिदिमस्थित ब्याडमिन्टन कभर्ड हलमा यही असार ६ र ७ गते सम्पन्न प्रतियोगितामा विभिन्न तौल समूह र विधामा ११० खेलाडीको सहभागिता रहेको थियो। प्रतियोगिताको मुख्य प्रवर्द्धक फिदिम नगरपालिका रहेको थियो भने कोशी प्रदेश तेक्वान्दाे संघले प्राविधिक सहयोग गरेको थियो।
संघले प्रतियोगिताको उद्घाटन तथा समापन समारोहमा सहभागी प्रमुख अतिथि फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले, विशेष अतिथि तथा अन्य अतिथिहरूप्रति पनि आभार व्यक्त गरेको छ।
प्रतियोगिताबाट जिल्लामा तेक्वान्दाे खेलको विकास, नयाँ प्रतिभाको पहिचान तथा प्रदेश र राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास संघले व्यक्त गरेको छ।
अध्यक्ष श्रेष्ठले आगामी वर्ष पनि प्रतियोगिता आयोजना गर्ने योजना रहेको उल्लेख गर्दै सहयोग र रचनात्मक सुझावका लागि सबै सरोकारवालासँग आग्रह गरिएको छ।
