`

सर्वोत्तम पेन्ट्सको आइपिओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?

Nepal One HD ११ असार २०८३ ११:२५
अर्थ समाचार

काठमाडौं। सर्वोत्तम पेन्ट्स लिमिटेडको प्राथमिक सेयर (आइपिओ) बिहीबार बाँडफाँट गरिएको छ।

कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आयोजित कार्यक्रममा आइपिओ बाँडफाँट सम्पन्न भएको हो।

बाँडफाँट परिणामअनुसार ७० हजार ५५० जना आवेदकले गोलाप्रथामार्फत १०–१० कित्ता सेयर प्राप्त गरेका छन्। कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको कुल ७ लाख ५ हजार ५०० कित्ता सेयरमध्ये योग्य आवेदकहरूलाई न्यूनतम १० कित्ताका दरले वितरण गरिएको हो।

आइपिओमा लगानीकर्ताको उल्लेखनीय आकर्षण देखिएको थियो। बिक्री अवधिभर कुल २८ लाख ९४ हजार २३२ जनाले ३ करोड १० लाख ३३ हजार १८० कित्ता सेयरका लागि आवेदन दिएका थिए। तीमध्ये २८ लाख ५० हजार २५ वटा आवेदन स्वीकृत भएका छन् भने ४४ हजार २०७ आवेदन विभिन्न कारणले रद्द गरिएको बिक्री प्रबन्धकले जनाएको छ।

सर्वोत्तम पेन्ट्सले जेठ २८ गतेदेखि असार २ गतेसम्म सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको थियो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ५ लाख ५० हजार रुपैयाँ बराबरको ७ लाख ५ हजार ५०० कित्ता साधारण सेयर बिक्री खुला गरेको थियो।

आवेदन संख्या अत्यधिक भएकाले अधिकांश लगानीकर्ता गोलाप्रथामा सहभागी भएका थिए। उपलब्ध सेयरको तुलनामा माग धेरै गुणा बढी परेकाले सीमित संख्यामा मात्रै आवेदकले सेयर प्राप्त गरेका छन्।

लगानीकर्ताले आफ्नो नतिजा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट, मेरो सेयर, सिडिएस एन्ड क्लियरिङ लिमिटेड तथा कम्पनीको आधिकारिक वेबसाइटमार्फत हेर्न सक्नेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *