`

चिकित्सकविरुद्धको उजुरी अब अनलाइनबाटै, मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’ पोर्टल

Nepal One HD ११ असार २०८३ १६:१४
जीवनशैली/स्वास्थ्य

काठमाडौं। नेपाल मेडिकल काउन्सिलले सेवा प्रवाहलाई थप सहज, छिटो र प्रभावकारी बनाउन ‘हेलो एनएमसी’ पोर्टल सञ्चालनमा ल्याएको छ। नयाँ प्रणालीमार्फत अब सर्वसाधारण तथा दर्तावाला चिकित्सकले विभिन्न गुनासा तथा उजुरी अनलाइनबाटै दर्ता गर्न सक्ने भएका छन्।

काउन्सिलका निमित्त रजिष्ट्रार डा. दिपेन्द्र पाण्डेका अनुसार यसअघि चिकित्सक वा चिकित्सा सेवासम्बन्धी उजुरी दर्ता गर्न सेवाग्राहीहरू काउन्सिलको बाँसबारीस्थित कार्यालयमै उपस्थित हुनुपर्ने बाध्यता थियो। विशेषगरी दूरदराजका नागरिकले सामान्य कामका लागि पनि काठमाडौं आउनुपर्दा समय र आर्थिक भार व्यहोर्नुपर्ने अवस्था रहेको थियो।

उहाँका अनुसार चिकित्सकविरुद्ध उजुरी दिने प्रक्रिया जटिल र झन्झटिलो हुँदा धेरै सेवाग्राहीले आफ्ना गुनासा सहज रूपमा दर्ता गर्न सकिरहेका थिएनन्। ‘हेलो एनएमसी’ पोर्टल सञ्चालनमा आएपछि भने सामान्य गुनासा वा उजुरीका लागि कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य भएको छ।

पोर्टलमार्फत उजुरीकर्ताले आफ्नो परिचय खुलाएर वा नाम गोप्य राखेर समेत उजुरी दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ। परिचय खुलाएर दर्ता गरिएका उजुरीको हकमा पनि उजुरीकर्ताको गोपनीयता पूर्ण रूपमा सुरक्षित राखिने काउन्सिलले जनाएको छ।

यसअघि उजुरी दर्तापछि त्यसको अवस्था, छानबिन वा कारबाही प्रक्रियाबारे जानकारी पाउन कठिन हुने गरेको थियो। अब भने उजुरी दर्ता भएसँगै प्रणालीले स्वचालित रूपमा ‘ट्र्याकिङ नम्बर’ उपलब्ध गराउनेछ। सोही नम्बरको आधारमा उजुरीको अवस्थाबारे जानकारी लिन सकिनेछ।

काउन्सिलका अनुसार उजुरीमाथि भइरहेको छानबिन तथा कारबाही प्रक्रियासम्बन्धी जानकारी सम्बन्धित उजुरीकर्तालाई एसएमएस र इमेलमार्फत नियमित रूपमा उपलब्ध गराइनेछ।

दर्तावाला चिकित्सकहरूले doctor.nmc.org.np मा गई आफ्नो व्यक्तिगत खातामार्फत गुनासा दर्ता गर्न सक्नेछन्। यस्तै, सर्वसाधारणले नेपाल मेडिकल काउन्सिलको आधिकारिक वेबसाइट www.nmc.org.np मा रहेको ‘हेलो एनएमसी’ पोर्टल प्रयोग गरी उजुरी दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ।

काउन्सिलको आधिकारिक क्यूआर कोड स्क्यान गरेर वा [email protected] इमेल ठेगानामार्फत पनि उजुरी तथा आवश्यक कागजात पठाउन सकिने काउन्सिलले जनाएको छ।

काउन्सिलका अनुसार डिजिटल प्रविधिको प्रयोगमार्फत सेवा पहुँच विस्तार, पारदर्शिता अभिवृद्धि तथा सेवाग्राहीको गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो प्रणाली सञ्चालनमा ल्याइएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *