आईपीओ पर्खिरहेको अम्बे स्टील्स १ करोड घाटामा
काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को अनुमति पर्खिरहेको अम्बे स्टील्स लिमिटेड चालु आर्थिक वर्षको पहिलो नौ महिनामा घाटामा गएको छ।
बिक्री मूल्यमा आएको गिरावट र महँगो मौज्दात (इन्भेन्टरी) को असरका कारण कम्पनीले समीक्षा अवधिमा करिब १ करोड रुपैयाँ खुद नोक्सानी व्यहोरेको रेटिङ एजेन्सी इन्फोमेरिक्सले जनाएको हो।
यसअघि कम्पनीले सन् २०२५ मा ९ अर्ब १० करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो। त्यस्तै सन् २०२४ मा ८ अर्ब ५ करोड ९० लाख रुपैयाँ, सन् २०२३ मा ८ अर्ब ३४ करोड ८० लाख रुपैयाँ र सन् २०२२ मा १० अर्ब ८७ करोड ८० लाख रुपैयाँ कारोबार गरेको थियो। चालु आर्थिक वर्षको पहिलो नौ महिनामा भने कम्पनीको आम्दानी ६ अर्ब १८ करोड ८० लाख रुपैयाँ पुगेको छ।
यसैबीच कम्पनीले ६ अर्ब ३० करोड ३४ लाख रुपैयाँ बराबरको बैंक कर्जाका लागि पुनः क्रेडिट रेटिङ गराएको छ। इन्फोमेरिक्सले कम्पनीको ‘आईआरएन बीबीबी माइनस इस्युअर’ रेटिङलाई यथावत् राखेको छ। यसअन्तर्गत १ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि ‘आईआरएन बीबीबी माइनस’ तथा ४ अर्ब ४२ करोड ३५ लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि ‘आईआरएन ए३’ रेटिङ पुनः पुष्टि गरिएको छ।
रेटिङ प्रतिवेदनमा कम्पनीको स्थापित बजार, देशव्यापी वितरण सञ्जाल, अनुभवी व्यवस्थापन टोली तथा अम्बे समूहसँगको आबद्धतालाई सकारात्मक पक्षका रूपमा उल्लेख गरिएको छ। ‘अम्बे टीएमटी’ र ‘अम्बे जीआई’ ब्रान्डमार्फत कम्पनीले देशभर उत्पादन बिक्री गर्दै आएको छ। साथै आफ्नै बिलेट उत्पादन प्लान्ट सञ्चालनमा रहेकाले कच्चा पदार्थको आपूर्ति व्यवस्थापन र उत्पादन लागत नियन्त्रणमा समेत सहयोग पुगेको मूल्यांकन गरिएको छ।
यद्यपि कम्पनीको वित्तीय अवस्था भने दबाबमा रहेको इन्फोमेरिक्सले जनाएको छ। सन् २०२५ मा ४ अर्ब ७२ करोड रुपैयाँ रहेको कुल ऋण चालु आर्थिक वर्षको पहिलो नौ महिनामा बढेर ६ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। चालु पुँजी व्यवस्थापनका लागि बैंक ऋणमा बढ्दो निर्भरताले वित्तीय भार थप बढाएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
कम्पनीको मौज्दात र उठाउन बाँकी रकम उच्च रहेकाले नगद प्रवाहमा समेत दबाब परेको जनाइएको छ। साथै भारतबाट आयात हुने कच्चा पदार्थमा निर्भरता रहेकाले विदेशी मुद्रा विनिमय दरमा हुने उतारचढावको असर पनि कम्पनीले खेप्दै आएको छ। प्रतिवेदनअनुसार सन् २०२५ मा मात्रै कम्पनीले ३ करोड ९२ लाख रुपैयाँभन्दा बढी विदेशी विनिमय घाटा व्यहोरेको थियो।
इन्फोमेरिक्सले स्टिल उद्योगमा बढ्दो प्रतिस्पर्धा, कच्चा पदार्थको मूल्यमा हुने उतारचढाव तथा नीतिगत अनिश्चिततालाई कम्पनीका प्रमुख चुनौतीका रूपमा औँल्याएको छ। यद्यपि नेपालमा पूर्वाधार, ऊर्जा तथा निर्माण क्षेत्रमा सरकारी लगानी विस्तार भइरहेकाले दीर्घकालीन रूपमा स्टिलजन्य सामग्रीको माग सकारात्मक रहने अपेक्षा गरिएको छ। आगामी दिनमा नाफा सुधार, ऋण व्यवस्थापन र चालु पुँजी नियन्त्रणमा कम्पनीले देखाउने प्रदर्शन रेटिङका लागि महत्वपूर्ण हुने एजेन्सीको निष्कर्ष छ।
अम्बे स्टील्सले प्रतिकित्ता ३०३ रुपैयाँका दरले १ करोड ११ लाख ९२ हजार ७२७ कित्ता साधारण सेयर (आईपीओ) निष्कासनका लागि सेबोनमा आवेदन दिएको छ। प्रस्तावित आईपीओ स्वीकृत भए कम्पनीले ३ अर्ब ३९ करोड १३ लाख ९६ हजार रुपैयाँ बराबरको सेयर सर्वसाधारणलाई बिक्री गर्नेछ। कम्पनीले २०८१ कात्तिकमै आईपीओ निष्कासन अनुमति माग्दै बोर्डमा आवेदन दर्ता गरेको थियो।
अम्बे समूहअन्तर्गत सञ्चालित अम्बे स्टील्स सन् २००७ अगस्ट २६ मा स्थापना भएको हो। सन् २०२३ अक्टोबर १९ मा कम्पनी सार्वजनिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको थियो। रुपन्देहीको भैरहवास्थित गोनाहा-६ मा रहेको उत्पादन प्लान्टबाट कम्पनीले टीएमटी स्टिल बार, बिलेट तथा जीआई वायर उत्पादन गर्दै आएको छ। कम्पनीको वार्षिक उत्पादन क्षमता २ लाख ३८ हजार ४ सय मेट्रिक टन रहेको छ भने ग्याबियन बक्स उत्पादन क्षमता ३० लाख वर्गमिटर रहेको जनाएको छ।
कम्पनीका प्रमुख सेयरधनीमा शोभाकर न्यौपानेको २४ प्रतिशत, शिवाज न्यौपानेको १८ प्रतिशत, सज्जन अग्रवालको १२.५ प्रतिशत तथा शिवानी न्यौपानेको ११ प्रतिशत स्वामित्व रहेको छ।
