`

इन्धनको मूल्य तत्काल घट्दैन : अर्थमन्त्री वाग्ले

Nepal One HD १४ असार २०८३ १५:२५
अर्थ समाचार

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मध्यपूर्वमा देखिएको तनाव क्रमशः कम हुँदै गएको र त्यसको प्रभावस्वरूप डिजेल, पेट्रोल तथा मट्टितेलको मूल्य पनि आगामी दिनमा घट्ने बताएका छन्।

आइतबार प्रतिनिधिसभामा आर्थिक विधेयक, २०८३ माथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेको जानकारी दिए। त्यसको प्रभाव नेपालमा देखिन केही समय लाग्ने भए पनि इन्धनको मूल्य घट्ने अवस्था बनेको उनको भनाइ थियो।

अर्थमन्त्री वाग्लेले आफूले जिम्मेवारी सम्हालेको दुई साताभित्रै आम उपभोक्तामाथि परेको मूल्यवृद्धिको भार कम गर्न डिजेल, पेट्रोल र मट्टितेलको आयातमा लाग्ने भन्सार महसुल तथा डिजेल–पेट्रोलमा लाग्ने पूर्वाधार विकास करको ५० प्रतिशत छुट दिने निर्णय गरिएको स्मरण गराए।

उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटे पनि त्यसको प्रत्यक्ष प्रभाव नेपालमा तत्काल नदेखिने बताए। कच्चा तेल प्रशोधन, भारतीय आयल निगममार्फत आपूर्ति र नेपालसम्म आइपुग्ने प्रक्रियाका कारण केही समयको अन्तराल रहने भए पनि अन्ततः इन्धनको मूल्य घट्ने अवस्था रहेको उनले स्पष्ट पारे।

अर्थमन्त्री वाग्लेले सरकारले अन्तर्राष्ट्रिय बजारको अवस्थालाई निरन्तर निगरानी गरिरहेको र उपभोक्तालाई राहत दिने नीतिलाई प्राथमिकतामा राखेर काम गरिरहेको पनि बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *