`

कम्युनिस्ट आन्दोलनलाई समयअनुकूल रूपान्तरण गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

Nepal One HD १४ असार २०८३ १७:४८
नेकपा एमाले

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले नेपालको कम्युनिस्ट आन्दोलन अहिले नयाँ अवसर र चुनौतीको मोडमा पुगेको बताउँदै बदलिँदो जनआकांक्षा, सामाजिक रूपान्तरण र प्रविधिको विकासअनुसार नीति, नेतृत्व र कार्यशैलीमा परिवर्तन आवश्यक रहेको बताएकी छन्।

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले कम्युनिस्ट शक्तिलाई आफ्ना कार्यशैली, प्राथमिकता र जनतासँगको सम्बन्धको गम्भीर समीक्षा गर्ने अवसर प्रदान गरेको बताइन्। निर्वाचनको परिणामलाई आत्मसमीक्षाको आधार बनाउनुपर्ने भए पनि त्यसकै आधारमा जनताको बहुदलीय जनवाद वा कम्युनिस्ट आन्दोलनको भविष्यबारे हतारमा निष्कर्ष निकाल्न नहुने उनको भनाइ थियो।

भण्डारीले कम्युनिस्ट आन्दोलनलाई सुदृढ बनाउन आत्मसमीक्षा, रचनात्मक पुनरावलोकन र जनतासँगको जीवन्त सम्बन्ध अपरिहार्य रहेको उल्लेख गरिन्। बदलिँदो पुस्ता, तीव्र गतिमा विकास भइरहेको प्रविधि, युवाका नयाँ आकांक्षा र विश्वव्यापी परिवर्तनलाई ध्यानमा राख्दै मूल सिद्धान्तलाई कायम राखेर समयअनुकूल नीति, संगठन र कार्यशैली परिमार्जन गर्नुपर्ने आवश्यकता अझ स्पष्ट भएको उनले बताइन्।

उनले जननेता मदन भण्डारीको भनाइ स्मरण गर्दै कम्युनिस्ट आन्दोलनको मूल चुनौती रचनात्मकताको अभाव रहेको उल्लेख गरिन्। ‘नेपालको कम्युनिस्ट आन्दोलनको समीक्षा गर्दै मदन भण्डारीले भन्नुभएको थियो, ‘रचनात्मकताको अभाव नै कम्युनिस्ट आन्दोलनको मूल समस्या हो।’ आज आन्दोलनले सामना गरिरहेका चुनौतीहरू हेर्दा उहाँको यो निष्कर्ष अझ सान्दर्भिक भएको अनुभव हुन्छ,’ उनले भनिन्।

भण्डारीका अनुसार बदलिँदो जनआकांक्षा र राष्ट्रिय आवश्यकताअनुसार नीति, नेतृत्व, संगठन र कार्यशैलीमा अपेक्षित रूपान्तरण हुन नसक्दा जनविश्वास कमजोर बनेको यथार्थलाई स्वीकार गर्नुपर्छ। ‘जनताको विश्वास पुनः आर्जन गर्ने आधार सिद्धान्तको यान्त्रिक पुनरावृत्तिमा होइन, समयअनुकूल उत्तरदायी र परिणाममुखी राजनीतिक अभ्यासको विकासमा निहित हुन्छ,’ उनले भनिन्, ‘अब विगतका उपलब्धिको स्मरण मात्र पर्याप्त हुँदैन। वर्तमानका जटिल प्रश्नहरूको विश्वसनीय उत्तर दिन सक्ने वैचारिक क्षमता र राजनीतिक सृजनशीलता आवश्यक छ।’

उनले युवा पुस्ताको आकांक्षा, डिजिटल युगका चुनौती, गुणस्तरीय शिक्षा, रोजगारी, स्वास्थ्य, सामाजिक न्याय, सुशासन, उत्पादनमुखी अर्थतन्त्र तथा राष्ट्रिय आत्मनिर्भरताजस्ता विषयमा व्यावहारिक र समयसापेक्ष दृष्टिकोण विकास गर्न सके मात्र कम्युनिस्ट आन्दोलनलाई थप सुदृढ, प्रभावकारी र जनमुखी बनाउन सकिने विश्वास व्यक्त गरिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *