`

अन्तत: दुई महिनापछि पुनः सुरु भयो नेपाली चियाको निर्यात

Nepal One HD १६ असार २०८३ १३:४०
अर्थ समाचार

काठमाडौं। झन्डै दुई महिनादेखि रोकिएको नेपाली चियाको भारत निर्यात अन्ततः पुनः सुचारु भएको छ। भारतीय पक्षले गुणस्तर परीक्षणसम्बन्धी प्रक्रिया परिमार्जन गरेपछि मंगलबारदेखि नेपाली अर्थोडक्स चिया पुनः भारततर्फ जान थालेको हो। यससँगै लामो समयदेखि गोदाममा थन्किएको चिया बजारमा पठाउने बाटो खुलेको छ भने चिया उद्योग, किसान र निर्यातकर्तामा राहतको वातावरण बनेको छ।

मंगलबार इलाममा उत्पादित अर्थोडक्स चिया बोकेका दुई ट्रक काँकडभिट्टा भन्सार पार गर्दै भारतको पानीट्याङ्की भन्सार पुगेका छन्। नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार भारतीय भन्सारले आवश्यक जाँच पूरा गरेर ती खेपलाई प्रवेश अनुमति दिइसकेको छ।

इलामको फिक्कलस्थित सूर्योदय टी प्रोसेसिङ एसोसिएसनका अध्यक्ष डिल्ली श्रेष्ठले पनि दुई महिनापछि निर्यात पुनः सुरु भएको पुष्टि गरेका छन्। उनका अनुसार इलामका समल भ्याली र इलाम टी उद्योगबाट एक-एक ट्रक अर्थोडक्स चिया भारत पठाइएको हो।

निर्यात अवरुद्ध हुँदा इलामका चिया उद्योगमा मात्रै करिब १२ लाख किलो अर्थोडक्स चिया गोदाममै थन्किएको थियो। भारतीय बजार बन्द हुँदा उद्योगहरूले उत्पादन रोक्नुपरेको थियो भने किसानले हरियो चियापत्ती बिक्री गर्न कठिनाइ भोगेका थिए।

उद्योगीहरूका अनुसार निर्यात पुनः सुरु भएसँगै गोदाममा रहेको चिया क्रमशः भारत पठाइनेछ। यसले उद्योगको नगद प्रवाह सुधार हुनुका साथै किसानको उत्पादनले पनि बजार पाउने अपेक्षा गरिएको छ।

भारतीय पक्षले यसअघि लागू गरेको कडा परीक्षण प्रणालीलाई परिमार्जन गर्दै अब प्रत्येक पाँच ट्रकमध्ये एउटा ट्रकबाट मात्रै नमुना संकलन गरेर परीक्षण गर्ने व्यवस्था लागू गरेको छ। अर्थात् कुल २० प्रतिशत खेपमा मात्रै ‘र्‍यान्डम’ परीक्षण हुनेछ।

भारतको खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरणले जोखिममा आधारित परीक्षण प्रणाली लागू गरेपछि सम्पूर्ण खेप रोक्ने अभ्यास हटाइएको उद्योगीहरूको भनाइ छ।

पानीट्याङ्की भन्सारमा परीक्षण प्रयोगशाला नभएकाले नमुना कोलकाता पठाइने भए पनि सबै चिया रोकेर राख्ने व्यवस्था अब नरहने विश्वास गरिएको छ।

निर्यात पुनः खुलेसँगै भारतीय खरिदकर्ताले नेपाली चियाका लागि नयाँ अर्डर दिन थालेका छन्।

नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताका अनुसार भारतीय व्यापारीहरूले अब गुणस्तर परीक्षणको नाममा अनावश्यक रूपमा नेपाली चिया नरोक्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले गुणस्तर परीक्षणका कारण भारतीय गोदाममा रोकिएको करिब दुई लाख ५० हजार किलो नेपाली चिया पनि बजारमा पठाइसकिएको जानकारी दिए।

भारतीय चिया बोर्डले गत वैशाख १८ गतेदेखि नेपालबाट आयात हुने चियामा नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर (एसओपी)’ लागू गरेको थियो। त्यसपछि प्रयोगशाला परीक्षण अनिवार्य गरिएसँगै नेपाली चियाको निर्यात प्रभावित बनेको थियो।

विरोधपछि केही समयका लागि ‘र्‍यान्डम स्याम्पलिङ’को व्यवस्था गरिए पनि भारतीय अधिकारीहरूले निर्यातकर्ताका गोदाममै पुगेर नमुना संकलन गर्न थालेपछि फेरि निर्यात ठप्प भएको थियो।

यसको प्रत्यक्ष असर इलामका ६५ वटा अर्थोडक्स र झापाका ३० वटा सिटीसी चिया उद्योगमा परेको थियो। उद्योग बन्द हुँदा ३० हजारभन्दा बढी किसान परिवार र एक लाखभन्दा बढी श्रमिक प्रभावित भएका थिए।

नेपालमा वार्षिक करिब ६५ लाख किलो अर्थोडक्स र दुई करोड किलो सिटीसी चिया उत्पादन हुने गर्छ। उत्पादित चियामध्ये करिब ९० प्रतिशत भारतमा निर्यात हुने भएकाले भारतीय नीतिमा हुने सानो परिवर्तनले समेत नेपाली चिया उद्योगमा ठूलो प्रभाव पार्ने गरेको छ।

यसपटक निर्यात पुनः सुरु भएसँगै तत्कालका लागि राहत मिले पनि उद्योगीहरूले यस्ता समस्या दोहोरिन नदिन नेपालले वैकल्पिक अन्तर्राष्ट्रिय बजार विस्तार र आफ्नै गुणस्तर परीक्षण पूर्वाधार सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *