भन्सार छलेर ल्याइएका ३५ थान आइफोन प्रहरीको हातमा परेपछि…
काठमाडौं । रुपन्देही प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छलेर नेपाल भित्र्याइँदै गरिएका एप्पल कम्पनीका ३५ थान आइफोन बरामद गरेको छ। बरामद गरिएका मोबाइल फोनको अनुमानित बजार मूल्य करिब २० लाख ५० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार इलाका प्रहरी कार्यालय मझगावाँबाट खटिएको प्रहरी टोलीले सोमबार कोटहीमाई गाउँपालिका–५ स्थित बेनिनगर क्षेत्रमा नियमित सुरक्षा जाँचका क्रममा उक्त आइफोन बरामद गरेको हो।
प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपी ५६ डिएक्स ८८३८ नम्बरको भारतीय मोटरसाइकललाई शंकाको आधारमा रोकेर खानतलासी गर्दा एप्पल कम्पनीका विभिन्न मोडलका ३५ थान आइफोन फेला पारेको थियो। प्रारम्भिक अनुसन्धानबाट ती मोबाइल फोन आवश्यक भन्सार प्रक्रिया पूरा नगरी अवैध रूपमा नेपाल ल्याउन खोजिएको खुलेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार बरामद गरिएका आइफोन र प्रयोग गरिएको मोटरसाइकल आवश्यक कानुनी कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको छ। भन्सार कार्यालयले अब राजस्व छलीसम्बन्धी कानुनी प्रक्रिया अघि बढाउनेछ।
भारतसँग खुला सीमा जोडिएको रुपन्देही जिल्लामा पछिल्लो समय भन्सार छली गरेर मोबाइल फोन, विद्युतीय सामग्री, लत्ताकपडा तथा अन्य उच्च मूल्यका सामान नेपाल भित्र्याउने प्रयासका घटना बढ्दै गएको भन्दै प्रहरीले सीमा क्षेत्रमा निगरानी थप कडा बनाएको जनाएको छ।
प्रहरीले सीमावर्ती क्षेत्रमा नियमित चेकजाँच, गस्ती तथा सूचनाका आधारमा निगरानीलाई प्रभावकारी बनाइएको उल्लेख गर्दै भन्सार छली र अवैध आयात नियन्त्रणका लागि सुरक्षा निकाय तथा भन्सार कार्यालयबीच समन्वयात्मक अभियानलाई निरन्तरता दिइएको जनाएको छ।
