श्रावणदेखि सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग [फोटो-फिचर]
काठमाडौं । नेपालको पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुंगा सुरुङमार्ग आगामी श्रावण महिनादेखि सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ।
सञ्चालनअघि गरिने प्राविधिक परीक्षणहरू तीव्र पारिएको छ भने सुरुङभित्र प्रयोग हुने सञ्चालन तथा मर्मतसम्भारका सवारीसाधनको परीक्षण सफलतापूर्वक सम्पन्न भएको हो।
परियोजनाका अनुसार परीक्षणका क्रममा सुरुङभित्र नियमित निरीक्षण, सरसफाइ, मर्मतसम्भार, आपत्कालीन उद्धार तथा दुर्घटना व्यवस्थापनमा प्रयोग हुने सवारीसाधन र उपकरणहरूको कार्यसम्पादन मूल्याङ्कन गरिएको थियो। साथै भेन्टिलेसन प्रणाली, विद्युत् आपूर्ति, अग्नि नियन्त्रण, सञ्चार प्रणाली, सिसिटिभी निगरानी र ट्राफिक व्यवस्थापन प्रणालीको अन्तिम परीक्षण पनि जारी छ।
नागढुंगा सुरुङमार्गको निर्माण २०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेपछि सुरु भएको थियो। जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण गरिएको यो परियोजनाको मुख्य निर्माण जिम्मेवारी जापानी कम्पनी हाज्मा–आन्दो कर्पोरेशनले सम्हालेको हो।
करिब २२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको परियोजनामा अधिकांश रकम जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋणमार्फत व्यवस्थापन गरिएको छ। मुख्य सुरुङको लम्बाइ करिब २.६८ किलोमिटर रहेको छ भने आपत्कालीन उद्धारका लागि समानान्तर उद्धार सुरुङ पनि निर्माण गरिएको छ। परियोजनाअन्तर्गत पहुँच सडक, पुल, फ्लाइओभर तथा अन्य सहायक संरचनाहरू पनि तयार भइसकेका छन्।
निर्माण कार्य कोभिड–१९ महामारी, जग्गा अधिग्रहण, प्राविधिक जटिलता तथा अन्य व्यवस्थापकीय कारणले अपेक्षाभन्दा केही ढिला भए पनि अहिले अधिकांश काम सम्पन्न भइसकेको छ। सञ्चालनअघि अन्तिम सुरक्षा परीक्षण र प्राविधिक प्रमाणीकरणको काम भइरहेको छ।
सुरुङमार्ग सञ्चालनमा आएपछि सुरुवाती चरणमा तोकिएका मापदण्ड पूरा गर्ने सवारीसाधनलाई मात्रै प्रवेश दिइनेछ। सुरुङभित्र गति सीमा, लेन अनुशासन, सवारीबीचको दूरी तथा अन्य सुरक्षा मापदण्डको कडाइका साथ पालना गराइनेछ। सम्पूर्ण सञ्चालन तथा निगरानी अत्याधुनिक नियन्त्रण केन्द्रबाट हुने व्यवस्था मिलाइएको छ।
नागढुंगा सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं उपत्यकामा प्रवेश गर्ने र बाहिरिने सवारीसाधनको आवागमन थप सहज हुने अपेक्षा छ।
विशेषगरी नागढुंगा सडकखण्डमा वर्षौंदेखि हुने ट्राफिक जाम घट्नुका साथै यात्राको समय, इन्धन खपत र ढुवानी लागतमा उल्लेखनीय कमी आउने विश्वास गरिएको छ।


















