`

ह्वात्तै घट्यो तेलको मूल्य

Nepal One HD १८ असार २०८३ १३:३१
अर्थ समाचार

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा घटेको छ। केही समयअघि मध्यपूर्वमा बढेको भू-राजनीतिक तनावका कारण उच्च विन्दुमा पुगेको तेलको मूल्य अहिले क्रमशः ओरालो लाग्दै प्रतिब्यारेल ७० डलरको हाराहारीमा झरेको हो।

पछिल्लो अन्तर्राष्ट्रिय बजार विवरणअनुसार ब्रेन्ट क्रुड प्रतिब्यारेल ७०.६० डलर, डब्लुटिआई (डब्लु-टी-आई) क्रुड करिब ६७ डलर र मर्भन क्रुड करिब ६५ डलरमा कारोबार भइरहेको छ।

यसअघि अमेरिका र इरानबीच बढेको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेखनीय रूपमा बढेको थियो। तर पछिल्ला कूटनीतिक पहल र तनाव कम हुने संकेतसँगै बजारमा आपूर्ति अवरुद्ध हुने जोखिम घटेकाले मूल्यमा निरन्तर गिरावट आएको विश्लेषण गरिएको छ।

विश्लेषकहरूका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्भावित सहमतिपछि तेलको मूल्य घट्ने गरेको अनुमान र वित्तीय विश्लेषण संस्था ‘एमके ग्लोबल’ले आगामी वर्षहरूका लागि गरेको मूल्य प्रक्षेपण अपेक्षाभन्दा छिट्टै देखिन थालेको छ।

विश्वको ठूलो हिस्सा तेल आपूर्ति हुने रणनीतिक जलमार्ग स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन बाँकी रहे पनि आगामी दिनमा आपूर्ति सहज हुने विश्वासले अन्तर्राष्ट्रिय बजारमा सकारात्मक प्रभाव परेको छ।

यसैबीच इरान र अमेरिकाबीच जारी कूटनीतिक संवाद, कतारको दोहामा भइरहेको वार्ता तथा तनाव न्यूनीकरणका प्रयासले बजारमा रहेको भू–राजनीतिक जोखिम घटाएको बताइएको छ। त्यससँगै ओपेक प्लस राष्ट्रहरूले उत्पादन बढाउनु, साउदी अरब र संयुक्त अरब इमिरेट्सको पर्याप्त उत्पादन क्षमता तथा विभिन्न देशले रणनीतिक तेल भण्डारण विस्तार गरेकाले पनि मूल्यमा दबाब परेको विश्लेषण गरिएको छ।

कच्चा तेलको अन्तर्राष्ट्रिय मूल्य घटेसँगै नेपालसहित दक्षिण एसियाली मुलुकमा पेट्रोलियम पदार्थको आयात लागत कम हुने अपेक्षा गरिएको छ।

यदि अन्तर्राष्ट्रिय बजारमा यही प्रवृत्ति कायम रहेमा आगामी मूल्य समायोजनमा उपभोक्ताले पनि इन्धनको मूल्यमा थप राहत पाउने सम्भावना रहेको ऊर्जा क्षेत्रका जानकारहरू बताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *