`

जनताका समस्या समाधान गर्नुको साटो सरकारले प्रतिशोधको राजनीति गरिरहेको एमालेको आरोप [भिडियाे]

Nepal One HD १८ असार २०८३ १४:१३
नेकपा एमाले

काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेले सरकारले जनताका आधारभूत समस्या समाधान गर्नुको सट्टा प्रतिशोधको राजनीतिमा केन्द्रित भएको आरोप लगाएको छ।

प्रतिनिधिसभाको बैठकमा एमालेका तर्फबाट बोल्दै सांसद साजिदा खातुन सिद्धिकीले वर्तमान सरकार जनउत्तरदायी बन्न नसकेको टिप्पणी गरिन्।

उनले प्रधानमन्त्रीलाई ‘सडकको होइन, देशको प्रधानमन्त्री’ बन्न आग्रह गर्दै संसद्को रोस्ट्रमबाट देश र जनताको हितमा सत्य बोल्न चुनौती दिइन्। सरकारले आफ्नो कार्यशैली नसच्याए छिट्टै असफल हुने चेतावनी पनि उनले दिइन्।

सांसद सिद्धिकीले प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्न पाउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन नभएको भन्दै असन्तुष्टि व्यक्त गरिन्। ‘यो प्रक्रियाले सरकारलाई जवाफदेही, पारदर्शी र बलियो बनाउँछ, तर सरकार सदन र जनताप्रति उत्तरदायी देखिएको छैन,’ उनले भनिन्।

एमाले उपाध्यक्ष विष्णु पौडेलमाथि सुर्खेतमा गरिएको व्यवहार तथा सम्पत्ति शुद्धीकरण र ठगीसम्बन्धी अनुसन्धान प्रक्रियाप्रति पनि उनले प्रश्न उठाइन्। कुनै ठोस प्रमाणबिना नै चरित्रहत्या गर्ने उद्देश्यले सरकार अघि बढेको आरोप लगाउँदै उनले भनिन्, ‘यदि कुनै प्रमाण भेटिएन भने उहाँको सम्मान र मानहानिको क्षतिपूर्ति कसले दिन्छ? झुटा विवरण खोज्दै हिँड्ने सरकारको बाटो गलत छ।’

सिद्धिकीले कालापानी, लिपुलेक र सुस्तालगायतका राष्ट्रिय समस्याको समाधान हुन नसकेको पनि बताइन्। सुस्तावासी आफ्ना अधिकारका लागि माइतीघर मण्डलामा आन्दोलन गर्न बाध्य भएको उल्लेख गर्दै उनले प्रधानमन्त्रीले संसद्मा व्यक्त गरेको धारणा र सुस्ताको यथार्थबीच ठूलो अन्तर रहेको दाबी गरिन्। ‘सरकारले जनताको मौलिक हकको समेत ख्याल गरेको छैन,’ उनले भनिन्।

देशको वर्तमान आर्थिक अवस्था, बढ्दो महँगी, करको भार तथा सेयर बजारमा देखिएको अस्थिरताले सर्वसाधारण त्रसित भएको उल्लेख गर्दै उनले राजस्व सङ्कलन र आर्थिक व्यवस्थापनमा सरकारले आवश्यक गम्भीरता नदेखाएको आरोप पनि लगाइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *