अज्ञात नजरबन्दमा सुकी
काठमाडौं । म्यान्माकी अपदस्थ नेतृ आङ सान सुकीलाई सैन्य सरकारले राजधानी न्यापिडोमा नजरबन्दमा राखिएको दाबी गरे पनि उनी वास्तवमा कहाँ छन् भन्ने विषय अझै रहस्यमै रहेको छ।
सन् २०२१ मा सैनिक ‘कू’ भएपछि सार्वजनिक रूपमा नदेखिएकी ८१ वर्षीया सुकीको वास्तविक ठेगानाबारे सैन्य अधिकारी, राजनीतिज्ञ र राजधानीका स्थानीय बासिन्दासमेत अनभिज्ञ रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
सैनिक शासक मिन आङ ह्लाइङले गत अप्रिलमा सुकीलाई न्यापिडो जेलबाट नजरबन्दमा सारिएको घोषणा गरेका थिए। उनले यसलाई मानवीय कदमका रूपमा प्रस्तुत गरे पनि आलोचकहरूले भने सुकीलाई अझै कडा सुरक्षा निगरानीमा अज्ञात स्थानमा राखिएको र यो निर्णय अन्तर्राष्ट्रिय दबाब कम गर्ने प्रयास मात्र भएको बताएका छन्।
करिब १० लाख जनसङ्ख्या रहेको न्यापिडो योजनाबद्ध रूपमा निर्माण गरिएको राजधानी हो। जङ्गल, धानबारी र फराकिला बहुलेन सडकबीच सरकारी भवनहरू फैलिएका छन्। विज्ञहरूका अनुसार सहरको संरचनाले नै सुरक्षा र गोपनीयतालाई प्राथमिकता दिएकाले त्यहाँ कसैको वास्तविक स्थान पत्ता लगाउन निकै कठिन हुन्छ।
सैन्य समर्थक युनियन सोलिडेरिटी एन्ड डेभलपमेन्ट पार्टी (यूएसडिपी) का नेता थेइन तुन ओओले समेत सुकी कहाँ राखिएकी छन् भन्ने जानकारी आफूलाई नभएको स्वीकार गरेका छन्।
सन् २००५ मा तत्कालीन सैन्य शासक थान श्वेले न्यापिडोलाई राजधानी घोषणा गरेका थिए। राजनीतिक विद्रोह र बाह्य हस्तक्षेपबाट सत्ता सुरक्षित राख्ने उद्देश्यले सहरको विकास गरिएको सहरी योजनाकारहरूको विश्लेषण छ। विशाल संसद् भवन, प्रायः सुनसान देखिने सडक, मोबाइल इन्टरनेट अवरुद्ध गर्ने प्रणाली तथा कडा सुरक्षा व्यवस्थाले न्यापिडोलाई बाहिरी संसारबाट अलग्गिएको अनुभूति गराउने उनीहरूको भनाइ छ।
कोलम्बिया विश्वविद्यालयका सहायक प्राध्यापक तथा वास्तुविद् गालेन पार्डीका अनुसार न्यापिडोको डिजाइन परम्परागत सहरी योजनाभन्दा राजनीतिक नियन्त्रणलाई केन्द्रमा राखेर तयार गरिएको हो।
स्थानीय बासिन्दाहरूले पनि सहरका धेरै स्थान आफूहरूलाई समेत अपरिचित लाग्ने भएकाले सुकी कहाँ राखिएकी छन् भन्ने अनुमान गर्न नसकिएको बताएका छन्। सुरक्षाका कारण नाम नखुलाएकी एक स्थानीय महिलाले सहरका धेरै सडक अझै आफूहरूलाई पनि अलमल लाग्ने भएकाले सुकीको वास्तविक स्थानबारे कुनै जानकारी नभएको बताएकी छन्।
स्वतन्त्रता सेनानी आङ सानकी छोरी सुकी सन् १९८८ मा म्यान्मा फर्किएपछि प्रजातन्त्र आन्दोलनको नेतृत्वमा उभिएकी थिइन्। त्यसपछि उनले वर्षौं नजरबन्द जीवन बिताइन् र सन् १९९१ मा नोबेल शान्ति पुरस्कार प्राप्त गरिन्। पछि सैनिक शासनले सीमित लोकतान्त्रिक अभ्यासअन्तर्गत उनलाई शासन सञ्चालन गर्ने अवसर दिएको थियो। तर सन् २०२१ को सैनिक ‘कू’पछि उनी पुनः पक्राउ परिन्।
त्यसयता मानवअधिकारवादी समूहहरूले राजनीतिक उद्देश्यले लगाइएका आरोपका आधारमा सुकीलाई कैदमा राखिएको भन्दै निरन्तर आलोचना गर्दै आएका छन्।
सुरक्षा निकायका दुई स्रोतका अनुसार सुकीलाई नजरबन्दमा सारिएको भनिए पनि उनलाई कुन क्षेत्रमा राखिएको छ भन्ने जानकारी अधिकांश सुरक्षा अधिकारीलाई समेत छैन।
सुकीका छोरा किम एरिसले लन्डनबाट एएफपीसँग कुरा गर्दै आफ्नी आमालाई घरसरहको सुविधायुक्त निवासमा नभई निजी जेलजस्तै कडा निगरानीमा रहेको स्थानमा राखिएको हुन सक्ने आशंका व्यक्त गरेका छन्। उनका अनुसार अहिलेको अवस्था विगतमा सुकीले भोगेको नजरबन्द जीवनभन्दा खासै फरक छैन।
यसैबीच, सुकीको दललाई चुनावबाट बाहिर राखेर सम्पन्न गरिएको निर्वाचनपछि सैनिक समर्थित यूएसडिपी सत्तामा पुगेको छ। यूएसडिपीका सांसद आय चानले सुकीको राजनीतिक युग समाप्त भइसकेको दाबी गर्दै उनी रिहा भए पनि अब राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका खेल्न नसक्ने टिप्पणी गरेका छन्। तर सुकी कहाँ राखिएकी छन् भन्ने प्रश्नको स्पष्ट जवाफ उनले पनि दिन सकेनन्।
