संवैधानिक परिषद्को बैठक आज बस्दै
काठमाडौं । संवैधानिक परिषद्को बैठक आज साँझ बस्ने भएको छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा साँझ ५ बजेका लागि बोलाइएको छ।
बैठकमा विभिन्न संवैधानिक निकायमा रिक्त रहेका पदहरूमा नियुक्तिका लागि सिफारिस गर्ने विषयमा छलफल हुने प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जानकारी दिए। उनका अनुसार आफूलाई पनि उक्त एजेन्डासहित बैठकमा सहभागी हुन बोलाइएको छ।
हाल विभिन्न संवैधानिक आयोगमा दर्जनभन्दा बढी पद रिक्त छन्। निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्तसहित दुई पद खाली छन् भने राष्ट्रिय मानवअधिकार आयोगमा एक सदस्य पद रिक्त रहेको छ।
यस्तै, मुस्लिम आयोगमा अध्यक्षसहित दुई, राष्ट्रिय समावेशी आयोगमा अध्यक्षसहित दुई तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक पद रिक्त छ।
त्यसैगरी, थारू आयोग र मधेसी आयोगमा अध्यक्षसहित दुई–दुई पद खाली छन्। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा अध्यक्षसहित तीन पद रिक्त छन् भने राष्ट्रिय महिला आयोगमा पनि एक सदस्य पद खाली रहेको छ।
लामो समयदेखि रिक्त रहेका यी पदमा नियुक्तिको प्रक्रिया अघि बढाउने विषयमा परिषद्को बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।
