`

कागको जीवनचक्र : अण्डादेखि वयष्क

Nepal One HD २७ असार २०८३ १५:३८
फिचर

काठमाडौं। नेपालको तराईदेखि हिमाली भेगसम्म सहजै देखिने काग अहिले तीव्र शहरीकरणका कारण आफ्नो प्राकृतिक बासस्थान गुमाउँदै गएका छन्।

विशेषगरी काठमाडौं उपत्यकामा तीव्र रूपमा बढ्दो बस्ती विस्तार र ठूला रुखको कटानीका कारण कागले सुरक्षित रूपमा गुँड बनाउन र चल्ला हुर्काउन उपयुक्त स्थान पाउन कठिन हुँदै गएको छ।

पहिले खेतबारी र खुला क्षेत्रमा रहेका अग्ला रुखमा गुँड बनाएर बस्ने काग अहिले विकल्पको अभावमा मानव बस्तीभित्र रहेका सीमित रुखमा आश्रय लिन बाध्य भएका छन्। काठमाडौंको नयाँ नैकाप क्षेत्रमा खिचिएका तस्बिरहरूले शहरीकरणका बीच पनि कागले जोखिम मोलेर मानव बस्तीमै गुँड बनाएर बच्चा हुर्काइरहेको अवस्था देखाउँछन्।

कागको प्रजनन चक्र करिब ५० देखि ६० दिनसम्म चल्ने गर्छ। पोथीले अण्डा पारेपछि भाले र पोथी दुवैले आलोपालो ओथारो बस्ने गर्छन्। सामान्यतया १८ देखि २५ दिनभित्र अण्डाबाट चल्ला निस्कन्छन् भने त्यसपछि करिब पाँचदेखि सात हप्तासम्म गुँडमै हुर्किएपछि उनीहरू उड्न सक्षम हुन्छन्। नेपालमा कागको मुख्य प्रजनन समय मे, जुन र जुलाई महिना मानिन्छ।

वन्यजन्तु तथा चराचुरुङ्गी संरक्षणमा अध्ययन गर्ने विज्ञहरूका अनुसार शहरीकरणसँगै अग्ला रुखहरू घट्दै जाँदा कागको प्राकृतिक बासस्थान निरन्तर साँघुरिँदै गएको छ। सुरक्षित गुँड बनाउने स्थानको अभावले उनीहरू मानव बस्ती नजिक पुग्न बाध्य भएका छन्, जसले चराचुरुङ्गी र मानिसबीचको दूरी पनि घटाएको छ।

मानव बस्तीभित्र कागको उपस्थिति बढेसँगै पक्षीजन्य रोगको जोखिमबारे पनि चिन्ता व्यक्त गरिएको छ। विशेषगरी बर्ड फ्लुजस्ता रोगहरू चराचुरुङ्गीबाट अन्य जनावर वा विशेष परिस्थितिमा मानिससम्म फैलिन सक्ने सम्भावना रहने भएकाले वन्यजन्तु र मानवबीचको बढ्दो निकटताले स्वास्थ्य सुरक्षाको विषयलाई पनि महत्त्वपूर्ण बनाएको विज्ञहरू बताउँछन्।

नयाँ नैकापलगायत काठमाडौंका विभिन्न क्षेत्रमा बढ्दो आवासीय विस्तारले खेतीयोग्य जमिन र हरियाली क्षेत्र घटाउँदै लगेपछि काग मात्र होइन, अन्य चराचुरुङ्गीको बासस्थानसमेत प्रभावित भएको छ।

प्राकृतिक वासस्थानको संरक्षण, खुला हरियाली क्षेत्रको विस्तार तथा ठूला रुख जोगाउने नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके मात्र शहरी विकास र जैविक विविधताबीच सन्तुलन कायम गर्न सकिने वातावरणविद्हरूको धारणा छ।

तस्वीरहरू:

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *