गणेश नेपालीको निधनप्रति गगन थापाको दुःख व्यक्त
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आत्मदाह प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै यस घटनालाई राजनीतिक आरोप-प्रत्यारोपको विषय नबनाउन आग्रह गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै थापाले गणेश नेपालीको मृत्युले समाज, राज्य र सम्पूर्ण नागरिकलाई आत्मचिन्तन गर्न बाध्य बनाएको बताएका छन्।
‘यो कुनै राजनीतिक बहस वा दोषारोपणको विषय होइन । यो एउटा नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र हाम्रो मानवीय संवेदनासँग जोडिएको विषय हो,’ उनले लेखेका छन्।
थापाले मृतकका आश्रित परिवारप्रति समवेदना व्यक्त गर्दै उनीहरूको दुःखमा सबैले आ-आफ्नो ठाउँबाट साथ दिनुपर्ने बताएका छन्।
‘मृतक नेपालीको आश्रित परिवारलाई कसरी साथ दिन सकिन्छ, कसरी उनीहरूको दुःखमा केही भए पनि मल्हम लगाउन सकिन्छ भन्नेबारे आ–आफ्नो ठाउँबाट सोचौँ र सक्दो सहयोग गरौँ,’ उनले आग्रह गरेका छन्।
उनले विगत र वर्तमान कसको दोष भन्ने बहसभन्दा पनि यस्ता घटनालाई राज्य सञ्चालनसँग जोडिएको सामूहिक आत्मचिन्तनको विषय बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।
‘हामीले आफैँसँग केही कठिन प्रश्न सोध्नैपर्छ । एउटा युवा किन यस्तो निराशाको बिन्दुसम्म पुग्छ ? आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन सिर्जना हुन्छ ?’ थापाले प्रश्न गरेका छन्।
उनले राज्यका सेवा र संयन्त्रले नागरिकलाई आड, साथ र भरोसाको अनुभूति गराउनुपर्ने भए पनि किन कतिपय नागरिक राज्यकै सामु आफूलाई असहाय महसुस गर्न बाध्य भइरहेका छन् भन्ने प्रश्न पनि उठाएका छन्।
‘समाज, परिवार, राज्य र हामी नागरिकका रूपमा कहाँ चुक्यौँ ? यी प्रश्नहरूको इमानदार उत्तर खोज्नु र भविष्यमा कुनै पनि नागरिकले यस्तो बाटो रोज्न नपर्ने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको साँचो श्रद्धाञ्जली हुनेछ,’ थापाले उल्लेख गरेका छन्।
