`

माजिद अन्सारीको रिहाइको माग गर्दै विराटनगरमा धर्ना, २६ जना पक्राउ

Nepal One HD २८ असार २०८३ ११:०५
प्रमुख खबर

विराटनगर । जेनजी अभियन्ता माजिद अन्सारीको रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय मोरङको मुख्य प्रवेशद्वारअघि धर्ना दिन पुगेका २६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार राति करिब साढे ९ बजे प्रहरी कार्यालयको गेट अगाडि धर्ना बसेर प्रदर्शन गरिरहेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार, प्रदर्शनकारीहरूले कार्यालयको मुख्य प्रवेशद्वार अवरुद्ध गरी आवागमनमा बाधा पुर्‍याएपछि उनीहरूलाई नियन्त्रणमा लिनुपरेको हो। पक्राउ परेका सबै जेनजी समूहसँग आबद्ध अभियन्ता रहेको प्रहरीले जनाएको छ।

यसअघि काठमाडौंको कीर्तिपुरस्थित सुन्दरीघाट होल्डिङ सेन्टरमा बाढी प्रभावित सुकुम्बासीहरूको अवस्था बुझ्न पुगेका जेनजी अभियन्ता माजिद अन्सारी, सरिश्मा थापा र नहेन्द्र खड्कालाई प्रहरीले पक्राउ गरेको थियो।

उनीहरूमध्ये सरिश्मा थापा र नहेन्द्र खड्का रिहा भइसकेका छन् भने माजिद अन्सारी अझै प्रहरी नियन्त्रणमै रहेका छन्। प्रहरीको कुटपिटबाट घाइते भएको आरोप लागेका अन्सारीको हाल काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको बताइएको छ।

अन्सारीमाथि प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाउँदै जेनजी अभियन्ताहरूले उनको विनासर्त रिहाइको माग गर्दै विभिन्न स्थानमा विरोध प्रदर्शन गरिरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *