रवि-बालेनको छलफल,मन्त्रीपरिषदमा हलचल
काठमाडौं। प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) र पार्टी सभापति रवि लामिछानेबीच पछिल्ला दुई दिनमा भएको छलफलमा सरकारको कार्यसम्पादन, केही मन्त्रीको भूमिका र सम्भावित मन्त्रिपरिषद् हेरफेरबारे गम्भीर समीक्षा भएको स्रोतले जनाएको छ।
स्रोतका अनुसार छलफलको केन्द्रमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पनि रहेका थिए। प्रधानमन्त्री बालेनले अर्थतन्त्रको वर्तमान अवस्था, सेयर बजारमा देखिएको निरन्तर गिरावट, पुँजी निर्माणको गति र आर्थिक नीतिको प्रभावकारिताबारे असन्तुष्टि व्यक्त गरेको स्रोतको दाबी छ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार बालेनको बुझाइमा अर्थमन्त्री वाग्लेको कार्यशैलीले लगानीकर्तामा अपेक्षित विश्वास सिर्जना गर्न सकेको छैन। सेयर बजार निरन्तर दबाबमा रहनु, विकास निर्माणका कार्यक्रमभन्दा वैदेशिक ऋण व्यवस्थापनमा बढी जोड देखिनु तथा अर्थतन्त्रमा उत्साह ल्याउने खालको बजेट प्रस्तुत हुन नसक्नुबारे छलफल भएको बताइएको छ।
यस्तै, नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा गोपालप्रसाद भट्ट नियुक्तिको विषय पनि छलफलमा उठेको स्रोतको दाबी छ। प्रधानमन्त्री निकट स्रोतले अर्थमन्त्रीले आफ्नो निकट व्यक्तिलाई नियुक्त गरेर ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ हुने अवस्था सिर्जना गरेको आरोप लगाएको जनाएको छ। यद्यपि यस विषयमा अर्थमन्त्री वा सम्बन्धित पक्षबाट सार्वजनिक प्रतिक्रिया आएको छैन।
उता, पार्टी सभापति लामिछानेले पनि केही मन्त्रीहरूको कार्यसम्पादनप्रति असन्तुष्टि जनाएको स्रोतको भनाइ छ। स्रोतका अनुसार स्वास्थ्यमन्त्री निशा मेहता, शिक्षामन्त्री सस्मित पोखरेल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादी, पर्यटनमन्त्री खड्कराज पौडेल र कृषिमन्त्री गीता चौधरीको कामको प्रभावकारिताबारे छलफल भएको थियो।
स्रोतका अनुसार प्रधानमन्त्रीले संस्थापन निकट मानिएका अर्थमन्त्रीको भूमिकामाथि प्रश्न उठाएपछि सभापति लामिछानेले पनि प्रधानमन्त्री निकट मानिने केही मन्त्रीहरूको कार्यसम्पादनबारे समीक्षा गर्नुपर्ने धारणा राखेका थिए। यसले पार्टीभित्र सरकार सञ्चालनको शैली र मन्त्रीहरूको जिम्मेवारीबारे खुला समीक्षा सुरु भएको संकेत गरेको स्रोतको दाबी छ।
पार्टीभित्रबाट प्रधानमन्त्री कार्यालयले मन्त्रालयहरूको काममा आवश्यकता भन्दा बढी हस्तक्षेप गरिरहेको गुनासोसमेत उठेको स्रोतले जनाएको छ। यही विषयलाई लिएर पनि छलफलमा सरकार सञ्चालनको कार्यशैलीबारे समीक्षा भएको बताइएको छ।
यसैबीच, असार २४ गते प्रधानमन्त्री बालेन शाहले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँग सिंहदरबारमा गरेको छलफलमा अर्थमन्त्री वाग्ले सहभागी नभएको विषयलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ।
त्यसउपरान्त प्रधानमन्त्री र अर्थमन्त्रीबीच देखिएको दूरी कम गर्न सभापति रवि लामिछानेले सहजीकरणको भूमिका खेलेको स्रोतको दाबी छ।
कार्यसम्पादनका आधारमा केही मन्त्रीको जिम्मेवारी हेरफेर गर्ने विषयमा प्रारम्भिक तहमा छलफल भए पनि कुनै अन्तिम निर्णय भएको छैन।
यद्यपि प्रधानमन्त्रीको सचिवालयले भने तत्काल मन्त्रिपरिषद् पुनर्गठनको कुनै तयारी नरहेको समेत स्पष्ट पारेको छ।
सरकार गठन भएको केही महिनामै मन्त्रीहरूको कार्यसम्पादन, आर्थिक नीति र सरकार सञ्चालनको शैलीबारे पार्टी नेतृत्वमै समीक्षा हुन थालेको चर्चा भइरहेका बेला यी घटनाक्रमले आगामी दिनमा सरकारभित्र थप फेरबदल हुन्छ कि हुँदैन भन्ने विषयलाई चासोका साथ हेरिएको छ।
