`

न्याय खोज्दा सिंहदरबार अघिको दृश्य

Nepal One HD २९ असार २०८३ १६:३६
फोटोफिचर

काठमाडौं। गृह मन्त्रालयमा पुगेर आफ्ना समस्या प्रत्यक्ष रूपमा राख्न पाउनुपर्ने माग गर्दै सिंहदरबारको दक्षिण गेटमा धर्ना दिएका निहारिका सिंह राजपूत र बिनु कठायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सोमबार वर्षाको बीचमा सिंहदरबार प्रवेश गर्न खोजेका उनीहरूलाई आवश्यक मापदण्डअनुसारको प्रवेश पास नभएको भन्दै प्रहरीले गेटमै रोकेको थियो। त्यसपछि दुवै जना दक्षिण गेटअगाडि सडकमै धर्नामा बसेका थिए।

निहारिका सिंह राजपूतले आफूहरू आवश्यक प्रक्रिया पूरा गरेर सिंहदरबार प्रवेश गर्न खोज्दा पनि ‘माथिको आदेश’ भन्दै रोकिएको आरोप लगाइन्।

उनले भनिन्, ‘हाम्रो लागि यो सरकार होइन? कोही पीडितलाई गृहमन्त्रीले आफैँ खोजी–खोजी भेट्ने, हामीलाई चाहिँ सिंहदरबारभित्र छिर्न पनि नदिने? हामी यहीँ धर्ना बस्छौँ।’

प्रहरीले प्रवेश गर्न नदिएपछि बिनु कठायत विरोधस्वरूप सडकमै सुतेकी थिइन्। त्यसलगत्तै प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतका अनुसार आवश्यक समन्वय र कानुनी प्रक्रिया पूरा गर्न निहारिका र बिनुलाई प्रहरी वृत्त सिंहदरबार लगिएको छ।

निहारिका सिंह राजपूत विगतदेखि आफ्ना व्यक्तिगत तथा कानुनी मागलाई लिएर विभिन्न सार्वजनिक आन्दोलन गर्दै आएकी छन्। यसपटक पनि गृह मन्त्रालयसमक्ष आफ्ना माग प्रत्यक्ष रूपमा राख्न पाउनुपर्ने अडानसहित उनी सिंहदरबार पुगेकी थिइन्।

तस्वीरहरू:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *