भिजिलान्तेमार्फत आलाेचनात्मक प्रश्न छेक्दै बालेन
काठमाडाैं । प्रमुख सञ्चारमाध्यमका कार्यालय तथा प्रमुख विपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको निवास अगाडि एकै दिन शंकास्पद रूपमा सवारीसाधन पार्क गरिएका घटनापछि सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको छ।
आलोचकहरूले यसलाई सामान्य पार्किङको घटना नभई सरकारको आलोचना गर्ने सञ्चारमाध्यम र विपक्षी आवाजमाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्ने प्रयास भएको आरोप लगाएका छन्।
सोमबार बिहान कान्तिपुर मिडिया ग्रुप, अनलाइनखबर, हिमालयन टेलिभिजन, भाटभटेनी सुपरमार्केट तथा कांग्रेस सभापति गगनकुमार थापाको निवास अगाडि आवतजावत नै प्रभावित हुने गरी सवारीसाधन पार्क गरिएको थियो।
घटना सार्वजनिक भएसँगै पत्रकार, नागरिक समाज र राजनीतिक वृत्तमा यसलाई लिएर तीव्र बहस सुरु भएको छ।
घटनालाई लिएर विभिन्न सञ्चारकर्मी तथा राजनीतिक नेताले सरकारको चर्को आलोचना गरेका छन्।
उनीहरूको आरोप छ, पछिल्लो समय सरकारमाथि बढिरहेका जनदबाब, सडक आन्दोलन र आलोचनाबाट जनताको ध्यान मोड्न तथा स्वतन्त्र प्रेसलाई त्रसित बनाउन यस्तो गतिविधि गरिएको हो।
कांग्रेस सभापति थापाले भनेका छन्, ‘गाडी राखेर बाटो मात्रै छेकिएको होइन, आवाज नै थुन्न खोजिएको हो। सरकार आफैँ प्रश्न गर्नेहरूको प्रश्न बन्द गर्न ओर्लिएको छ। आज मेरो घरअगाडि गाडी राखिएको होइन, मेरो मुख थुन्न खोजिएको हो। यो तर्साउने प्रयास हो। ‘प्रश्न गरिस् भने खबरदार’ भन्ने सन्देश दिन खोजिएको हो।’
उनले थप दाबी गरे, ‘त्यहाँ सामान्य नागरिक आएर गाडी राखेको होइन। गाडी राख्ने व्यक्ति प्रशासनकै गाडी चढेर गएको जानकारी आएको छ। त्यसैले यो सामान्य पार्किङको घटना भनेर टार्न सकिने अवस्था छैन।’
सरकारमाथि बढ्दो दबाबबीच पार्किङ
पछिल्ला केही सातादेखि सरकार विभिन्न जनसरोकारका विषयमा निरन्तर आलोचनाको केन्द्रमा छ। सहकारी पीडितको आन्दोलन पुनः चर्किँदै गएको छ।
मिटरब्याज पीडितहरू न्यायको माग गर्दै फेरि काठमाडौं केन्द्रित आन्दोलनका लागि आउँदैन् । सुकुम्बासी व्यवस्थापनको विषय झन् जटिल बनेको छ भने बेरोजगारी, सुशासन र सार्वजनिक सेवा प्रवाहका विषयमा सरकारमाथि प्रश्न उठिरहेका छन्।
यहीबीच पार्किङ विवादसँग जोडिएका मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाह र मृत्युको घटनाले पनि सरकारमाथि थप नैतिक दबाब सिर्जना गरेको छ।
त्यसअघि ‘१०० दिनमै रोजगारी’ दिने सरकारी प्रतिबद्धताप्रति निराश हुँदै सर्लाहीका विवेक मण्डलले आत्महत्याको प्रयास गरेको घटनाले समेत सरकारको कार्यक्षमतामाथि प्रश्न उठाएको थियो।
यस्ता जनसरोकारका विषयमा सरकारमाथि आलोचना बढिरहेका बेला आलोचनात्मक समाचार प्रकाशन गर्दै आएका सञ्चारमाध्यमकै कार्यालय अगाडि शंकास्पद रूपमा गाडी पार्क गरिनुले घटनालाई अझ रहस्यमय बनाएको छ।
सोमबार बिहान सबैभन्दा पहिले तीनकुनेस्थित कान्तिपुर मिडिया ग्रुपको मुख्य गेट अगाडि बा प्रदेश ०१-०३४ च ८४८० नम्बरको गाडी पार्क गरिएको भेटिएको थियो।
त्यसपछि बुद्धनगरस्थित अनलाइनखबरको कार्यालय अगाडि बा १२ च ८५४५ नम्बरको गाडी त्यही शैलीमा राखिएको जानकारी सार्वजनिक भयो।
त्यसपछि मध्यबानेश्वरस्थित हिमालयन टेलिभिजनको कार्यालय प्रवेशद्वार अगाडि पनि अर्को सवारीसाधन पार्क गरिएको फेला पर्यो। अनामनगरस्थित भाटभटेनी सुपरमार्केट अगाडि समेत यस्तै प्रकारले गाडी राखिएको थियो।
सबै घटनामा समान शैली अपनाइएको देखिएपछि पत्रकारहरूबीच यो नियोजित गतिविधि हुनसक्ने आशंका व्यक्त गरिएको थियो।
प्रहरीको भूमिकामाथि पनि शंकास्पद
सम्बन्धित सञ्चारगृहहरूले बिहानै प्रहरीलाई जानकारी गराए पनि गाडी तत्काल हटाउनेतर्फ सक्रियता देखाएन । गाडी हटाउन प्रहरी जानकारी दिएकाे झण्डै चार घण्टापछि मात्रै पुगे । यसले प्रहरीको भूमिकामाथि पनि प्रश्न उब्जिएकाे छ।
प्रहरीले भने सूचना प्राप्त हुनासाथ टोली परिचालन गरिएको र सुरक्षाका दृष्टिले गाडीमा कुनै विस्फोटक पदार्थ छ कि छैन भन्ने परीक्षण गरेपछि मात्रै क्रेनमार्फत हटाइएको जनाएको छ।
याे घटनापछि प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले लोकतन्त्रमा स्वतन्त्र पत्रकारितामाथि हुने कुनै पनि प्रकारको प्रत्यक्ष वा अप्रत्यक्ष दबाब अस्वीकार्य भएको बताएका छन्।
उनले भने, ‘सञ्चारमाध्यम सरकारका शत्रु होइनन्। उनीहरू जनताका आँखाअघि राज्यका कामकारबाही प्रस्तुत गर्ने ऐना हुन्। ऐना फुटाउँदैमा अनुहार सुन्दर देखिँदैन। समाचार रोक्दैमा समस्या हराउँदैन।’
उनले बालेन सरकारका निर्णय, कार्यशैली तथा जनसरोकारका विषयमा निरन्तर खबरदारी गरिरहेका सञ्चारमाध्यम र विपक्षी दललाई नै निशाना बनाइएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।
विशेषगरी सहकारी ठगी, मिटरब्याज पीडित, सुकुम्बासी समस्या, बेरोजगारी, भ्रष्टाचार तथा सुशासनका विषयमा आलोचनात्मक समाचार प्रकाशन भइरहेका बेला त्यही सञ्चारगृहका कार्यालय अगाडि सवारीसाधन राखिनुले घटनालाई संयाेज मात्रै मान्न नसकिने बताए ।
