१ सय ८१ रनको फराकिलो अन्तरले नेपाल विजयी
काठमाडौं। नेपालले एसीसी यू–१९ महिला प्रिमियर कपमा लगातार दोस्रो प्रभावशाली जित दर्ता गरेको छ। दोस्रो खेलमा हङकङलाई १ सय ८१ रनको विशाल अन्तरले पराजित गर्दै नेपालले प्रतियोगितामा आफ्नो उत्कृष्ट लय कायम राखेको हो।
पहिलो खेलमा सिंगापुरलाई १ सय ५१ रनले हराएको नेपालले हङकङविरुद्ध पनि ब्याटिङ र बलिङ दुवै विभागमा एकछत्र प्रदर्शन गर्दै विपक्षीलाई कुनै अवसर दिएन।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय ११ रनको विशाल योगफल तयार गर्यो। कप्तान सोनी पाख्रिनले उत्कृष्ट प्रदर्शन गर्दै ६० बलमा १३ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ९० रन बनाइन्। ओपनर सावित्री धामीले ३६ बलमा ५२ रनको अर्धशतकीय इनिङ खेलिन् भने अलिसा कुमारी यादवले १२ बलमा २३ रनको आक्रामक योगदान दिइन्। हङकङका लागि निम्रा अरबले २ विकेट लिइन्।
२ सय १२ रनको कठिन लक्ष्य पछ्याएको हङकङ सुरुदेखि नै नेपाली बलरहरूको दबाबमा रह्यो। टोलीका लागि वङ विङ किउ हेलीले मात्रै दोहोरो अंकमा रन बनाउन सफल भइन्। उनले ४५ बलमा १३ रन जोड्दा अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।
नेपालका लागि कप्तान सोनी पाख्रिनले बलिङमा पनि शानदार प्रदर्शन गरिन्। उनले ४ ओभरमा मात्र ४ रन खर्चेर ४ विकेट हात पारिन्। मनिषा उपाध्यायले २ विकेट लिएर उनलाई राम्रो साथ दिइन्।
लगातार दोस्रो फराकिलो जितसँगै नेपालले प्रतियोगितामा आफ्नो दाबेदारी थप बलियो बनाएको छ।
