बालेनले सीमा सम्बन्धी अभिव्यक्ति फिर्ता नलिएसम्म विरोध जारी राख्ने एमालेको चेतावनी
काठमाडौं। नेकपा एमालेले प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले सीमा सम्बन्धी दिएको अभिव्यक्ति फिर्ता नलिएसम्म प्रतिनिधिसभामा आफ्नो विरोध जारी रहने स्पष्ट पारेको छ।
प्रधानमन्त्रीको भनाइ राष्ट्रिय हितविपरीत रहेको दाबी गर्दै एमालेले उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट समेत हटाउन माग गरेको हो।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसद गणेशसिंह ठगुन्नाले राष्ट्रिय स्वाधीनता र सीमाको विषय अत्यन्त संवेदनशील भएकाले प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिले भ्रम सिर्जना गरेको आरोप लगाए। उनले प्रधानमन्त्रीले आफ्नो भनाइ फिर्ता लिएर संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गरे।
ठगुन्नाले विपक्षी दलहरूले यस विषयमा पटक-पटक प्रश्न उठाउँदा पनि सरकारले बेवास्ता गरेको आरोप लगाए। उनले राष्ट्रिय हितसँग जोडिएको विषयमा सरकार जिम्मेवार बन्नुपर्ने धारणा राखे।
उनले सोमबार विभिन्न सञ्चारमाध्यमका कार्यालयअगाडि शंकास्पद रूपमा गाडी राखिएको घटनाप्रति पनि आपत्ति जनाउँदै यसले पञ्चायतकालीन शैलीको झल्को दिएको टिप्पणी गरे। यस्ता गतिविधिले प्रेस स्वतन्त्रता र लोकतान्त्रिक वातावरणमाथि दबाब सिर्जना गर्ने उनको भनाइ थियो।
त्यसैगरी एमाले सांसद रमेश मल्लले पनि प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सच्याउन सरकारले कुनै पहल नगरेको भन्दै पछिल्ला दिनमा राजधानीमा भएका घटनाले गम्भीर चिन्ता उत्पन्न गरेको बताए। उनले गणेश नेपाली प्रकरणपछि देखिएका घटनाक्रम, सञ्चारमाध्यम र राजनीतिक दलका नेतालाई लक्षित गतिविधिबारे सरकारको भूमिका प्रश्नको घेरामा परेको बताए।
मल्लले राज्यको संरक्षणमा रहेका व्यक्तिबाट विभिन्न स्थानमा गाडी तेर्स्याउने तथा सञ्चारमाध्यम र नेताहरूको घरअगाडि उस्तै गतिविधि दोहोरिनु लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको बताए। उनले यस्ता गतिविधिलाई सामान्य रूपमा लिन नहुने धारणा राखे।
