शंकास्पद गाडी प्रकरणमा रास्वपाको शंकास्पद भूमिका
काठमाडौं। प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूले मिडिया हाउस, नेपाली कांग्रेसका सभापति गगन थापाको निवास र अन्य स्थानअघि भएको शंकास्पद गाडी पार्किङ प्रकरणबारे सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू मुकदर्शक भए।
सांसदहरूले आकस्मिक, शून्य र विशेष समयमा आ-आफ्ना निर्वाचन क्षेत्रका समस्या, विद्युत् आपूर्ति, विदेशमा रहेका नेपालीको अवस्था तथा विभिन्न जनसरोकारका विषय उठाए। तर मिडिया हाउस र कांग्रेस सभापतिको घरअगाडि एकै शैलीमा गरिएको शंकास्पद पार्किङबारे कसैले पनि धारणा राखेनन्।
बरु विपक्षी सांसदहरूले उक्त घटनालाई लिएर सरकारमाथि प्रश्न उठाउँदा रास्वपाका सांसदहरूले नियमापत्तिमार्फत त्यसको प्रतिवाद गरे।
रास्वपाका सांसद अमरेशकुमार सिंहले सर्लाहीका युवा विवेक मण्डलको आत्मदाहको विषय उठाउँदै पछिल्लो एक सातामै तीन युवाले आत्मदाह गरेको स्मरण गरे। उनले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राज्यले उपचारका लागि हेलिकोप्टरमार्फत प्रयास गरेको उल्लेख गरे।
देशमा बढ्दो निराशा कम गर्न संसद् र सबै राजनीतिक दल एकताबद्ध हुनुपर्ने उनको भनाइ थियो।
उनले भने, ‘लोकतन्त्र रह्यो भने फेरि हामी राजनीति गरौँला। आज कोही सत्तामा छन्, भोलि प्रतिपक्षमा हुन सक्छन्। तर लोकतन्त्र नै कमजोर भयो भने हामी कसैको पनि भविष्य रहँदैन।’
उनले देश चुनौतीपूर्ण अवस्थामा रहेको बताए पनि पछिल्लो समय सरकारमाथि उठिरहेका विवादबारे भने टिप्पणी गरेनन्।
यस्तै, सांसद लालविक्रम थापाले सुनसरीमा विद्युत् मर्मतका क्रममा गाडी दुर्घटनामा परी दुई प्राविधिकको मृत्यु भएको घटनामा पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराए।
सांसद दीपककुमार साहले सुनसरीका विभिन्न क्षेत्रमा एक सातादेखि दैनिक १२ देखि १८ घण्टासम्म विद्युत् अवरोध भइरहेको भन्दै त्यसले विद्यार्थी, खानेपानी, होटल, डेरी, आइसक्रिम व्यवसाय तथा साना उद्योग प्रभावित भएको बताए।
सांसद शम्भुकुमार यादवले सिरहाको गोलबजारमा पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको घटनालाई सार्वजनिक सुरक्षासँग जोडिएको गम्भीर विषय भन्दै सरकारको ध्यानाकर्षण गराए।
सोमबार बिहान अनलाइनखबर, हिमालय टेलिभिजन, कान्तिपुर मिडिया हाउस तथा नेपाली कांग्रेसका सभापति गगन थापाको निवासअगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरिएको थियो। कार्यालय र घरमा प्रवेश अवरुद्ध हुने गरी एकै शैलीमा पार्किङ गरिएपछि प्रहरीले अनुसन्धान थालेको छ। घटनामा संलग्न व्यक्ति वा समूहबारे भने अहिलेसम्म स्पष्ट खुल्न सकेको छैन।
प्रतिनिधिसभामा नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेशकुमार मल्लले उक्त घटनालाई ‘राज्य संरक्षित व्यक्तिहरूको गतिविधि’ जस्तो देखिएको टिप्पणी गरे।
उनको अभिव्यक्तिप्रति रास्वपा सांसद टिका संग्रौलाले नियमापत्ति जनाउँदै एउटा व्यक्तिको कार्यलाई आधार बनाएर सिंगो राज्यलाई दोष दिन नमिल्ने बताइन्।
उनले प्रतिनिधिसभा नियमावलीको व्यवस्था उल्लेख गर्दै राज्यको प्रतिष्ठामा आँच पुग्ने अभिव्यक्ति स्वीकार्य नहुने जिकिर गरिन्।
उनको भनाइ थियो, ‘यदि राज्यकै संलग्नता रहेको आरोप लगाइन्छ भने त्यसको प्रमाण संसद्मा प्रस्तुत गर्नुपर्छ। सरकारले अनुसन्धान र कारबाही गर्ने प्रतिबद्धता जनाइसकेको अवस्थामा त्यस प्रक्रियालाई विश्वास गर्नुपर्छ।’
बैठकमा नेपाली कांग्रेसका सचेतक निश्कल राईले होल्डिङ सेन्टर डुबान, गणेश नेपालीको आत्मदाह, मिडिया हाउस र गगन थापाको घरअगाडि भएको शंकास्पद पार्किङलगायत घटनालाई जोड्दै सरकारको आलोचना गरे।
उनले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई ‘श्री ८’ को संज्ञा दिँदै सरकारले प्रधानमन्त्रीलाई संविधान र कानुनभन्दा माथि राख्न खोजेको आरोप लगाए।
राईले सरकार अभिव्यक्ति स्वतन्त्रतामाथि दबाब सिर्जना गर्न खोजिरहेको दाबी पनि गरे।
लगत्तै रास्वपा सांसद शिवशंकर यादवले नियमापत्ति जनाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रधानमन्त्रीलाई ‘श्री ८’ भनेर सम्बोधन गर्नु संविधान र संसदीय मर्यादाविपरीत रहेको बताए।
उनले उक्त शब्द संसद्को अभिलेखबाट हटाउन सभामुखसँग माग गरे।
यसरी, विपक्षी दलहरूले सरकारसँग विभिन्न संवेदनशील घटनामा जवाफ मागिरहेका बेला रास्वपा सांसदहरूले ती विषयमा प्रत्यक्ष प्रतिक्रिया नदिई विपक्षीका अभिव्यक्तिमा प्रयोग भएका शब्द र शैलीप्रति नियमापत्ति जनाउनुलाई प्राथमिकता दिए।
