सरकार प्रचारमुखी र सस्तो लोकप्रियतामा अल्झिएको नेकपा सांसद शाहीको आरोप
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद महेन्द्रबहादुर शाहीले सरकारले जनताका आधारभूत समस्या समाधान गर्नुभन्दा प्रचारमुखी गतिविधि र सस्तो लोकप्रियता कमाउने काममा बढी ध्यान दिएको आरोप लगाएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मुलुकको अहिलेको आवश्यकता भौतिक पूर्वाधारको विकास, आर्थिक समृद्धि, सुशासन र सामाजिक न्याय भएको उल्लेख गर्दै सरकार भने ती प्राथमिकताभन्दा बाहिर गएको टिप्पणी गरे।
उनले प्रचार र देखावटी गतिविधिले मुलुकलाई विकासतर्फ होइन, बरु थप समस्यातर्फ धकेल्ने चेतावनी दिए। जनताले परिणाममुखी कामको अपेक्षा गरिरहेको बेला सरकारको ध्यान प्रचारमा केन्द्रित हुनु चिन्ताजनक रहेको उनको भनाइ थियो।
सांसद शाहीले प्रतिपक्षबाट उठाइएका प्रश्न र आलोचनालाई प्रतिरोध गर्ने वा राजनीतिक रूपमा जवाफ फर्काउनेभन्दा सरकारले आफ्नो कामबाटै उत्तर दिनुपर्ने धारणा राखे।
लोकतान्त्रिक व्यवस्थामा प्रतिपक्षका आवाजलाई सकारात्मक रूपमा लिएर सुधारतर्फ अग्रसर हुनुपर्ने उनले बताए।
सरकारका केही निर्णय र कार्यशैलीले जनतामा सरकारप्रतिको विश्वास कमजोर बन्दै गएको दाबी गर्दै उनले जनअपेक्षाअनुसार प्रभावकारी काम गर्न सरकारलाई आग्रह गरे।
