`

टी-२० विश्वकपको नयाँ ढाँचा सार्वजनिक, २० टोलीबीच ५५ खेल हुने

Nepal One HD ३१ असार २०८३ १७:११
खेलकुद

काठमाडाैं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले टी-२० विश्वकपका लागि नयाँ प्रतियोगिता ढाँचा सार्वजनिक गरेको छ। नयाँ प्रणालीअनुसार प्रतियोगितामा सहभागी २० टोलीबीच कुल ५५ खेल हुनेछन्। यस ढाँचाले समूह चरणपछि थप प्रतिस्पर्धात्मक खेल सुनिश्चित गर्ने उद्देश्य राखेको छ।

नयाँ प्रारूपअनुसार सुरुआतमा २० टोलीलाई चार-चार टोली रहने गरी पाँच समूहमा विभाजन गरिनेछ। प्रत्येक टोलीले आफ्नो समूहका अन्य टोलीसँग खेल्नेछ। समूह चरणका कुल ३० खेलपछि प्रत्येक समूहका शीर्ष दुई टोली गरी १० टोली ‘सुपर १०’ चरणमा प्रवेश गर्नेछन्।

सुपर १० चरणमा छनोट भएका १० टोलीलाई पुनः पाँच-पाँच टोलीका दुई समूहमा विभाजन गरिनेछ। यस चरणमा प्रत्येक टोलीले आफ्नो समूहका अन्य चार टोलीसँग प्रतिस्पर्धा गर्नेछ। सुपर १० मा कुल २० खेल हुनेछन्। दुवै समूहका विजेता टोलीले सिधै सेमिफाइनलमा स्थान बनाउनेछन्।

सेमिफाइनलका बाँकी दुई स्थानका लागि नयाँ ‘एलिमिनेटर’ प्रणाली लागू गरिएको छ। यसअन्तर्गत एक समूहको दोस्रो स्थानमा रहेको टोलीले अर्को समूहको तेस्रो स्थानमा रहेको टोलीसँग खेल्नेछ। यस्तै अर्को समूहको दोस्रो स्थानको टोलीले विपक्षी समूहको तेस्रो स्थानको टोलीसँग प्रतिस्पर्धा गर्नेछ। यी दुई एलिमिनेटर खेलका विजेताले सेमिफाइनलमा स्थान बनाउनेछन्।

त्यसपछि चार टोलीबीच दुई सेमिफाइनल खेल हुनेछन्। सेमिफाइनलका विजेता टोलीबीच हुने फाइनल खेलबाट टी-२० विश्वकपको नयाँ च्याम्पियनको टुंगो लाग्नेछ।

नयाँ प्रारूपअनुसार प्रतियोगितामा समूह चरणका ३०, सुपर १० का २०, एलिमिनेटरका २, सेमिफाइनलका २ र फाइनलको १ खेल गरी कुल ५५ खेल सञ्चालन हुनेछन्।

आईसीसीको यो नयाँ ढाँचाले समूह चरणपछि पनि धेरै टोलीलाई उपाधि होडमा राख्ने, प्रतिस्पर्धालाई थप रोमाञ्चक बनाउने तथा नकआउट चरणमा पुग्ने अवसरलाई अझ निष्पक्ष र आकर्षक बनाउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *