एकदिवसीय विश्वकपको प्रारुपमा व्यापक फेरबदल , १४ टोली सहभागि हुने
काठमाडाैं। सन् २०२७ को आईसीसी एकदिवसीय (ओडीआई) विश्वकपलाई आधिकारिक रूपमा १४ टोली सहभागी हुने भएका छन्। नयाँ प्रारूपअनुसार मुख्य चरणअघि प्रारम्भिक प्लेअफ खेलाइने भएकाले विश्वकपको संरचनामा महत्वपूर्ण परिवर्तन गरिएको छ।
नयाँ प्रारुपअनुसार विश्व वरीयताको १२ औँ, १३औँ र १४औँ स्थानमा रहेका तीन टोलीबीच पहिलो चरणमा राउन्ड-रोबिन प्रणालीमा प्रतिस्पर्धा हुनेछ। तीन टोलीबीच हुने यस चरणबाट शीर्ष स्थानमा रहने एक टोलीले मात्र मुख्य विश्वकपमा स्थान बनाउनेछ। त्यसपछि मुख्य प्रतियोगितामा १२ टोलीबीच उपाधिको प्रतिस्पर्धा सुरु हुनेछ।
मुख्य चरणमा १२ टोलीलाई ६–६ टोलीका दुई समूहमा विभाजन गरिनेछ। प्रत्येक टोलीले आफ्नो समूहका अन्य पाँच टोलीसँग खेल्नेछ। यस चरणमा कुल ३० खेल हुनेछन्।
समूह चरणपछि दुवै समूहका शीर्ष तीन–तीन टोली र दुवै समूहका चौथो स्थानमा रहने टोलीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने एक टोली गरी सात टोली ‘सुपर ७’ चरणमा प्रवेश गर्नेछन्।
सुपर ७ चरणमा सबै टोलीले एक–अर्काविरुद्ध राउन्ड–रोबिन प्रणालीमा प्रतिस्पर्धा गर्नेछन्। यस चरणमा कुल २१ खेल हुनेछ। सुपर ७ को अन्त्यमा शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन्।
सेमिफाइनलमा पहिलो स्थानमा रहने टोलीले चौथो स्थानको टोलीसँग तथा दोस्रो स्थानमा रहने टोलीले तेस्रो स्थानको टोलीसँग प्रतिस्पर्धा गर्नेछ। दुवै सेमिफाइनलका विजेताबीच फाइनल खेल हुनेछ, जसबाट नयाँ विश्व च्याम्पियनको टुंगो लाग्नेछ।
नयाँ प्रारूपअनुसार प्रतियोगितामा समूह चरणका ३०, सुपर ७ का २१, सेमिफाइनलका २ र फाइनलको १ खेल गरी कुल ५५ खेल सञ्चालन हुनेछन्।
आईसीसीले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाउने उद्देश्यले यो प्रारूप ल्याएको भए पनि ‘१४ टोलीको विश्वकप’ भनिए पनि मुख्य प्रतियोगितामा १२ टोलीमात्रै खेल्ने व्यवस्थाले क्रिकेट समर्थकमाझ नयाँ बहस सुरु भएको छ।
