नेपाल २०२८ टी-२० विश्वकप ग्लोबल क्वालिफायरमा सिधै छनोट
काठमाडाैं। नेपालले आईसीसी पुरुष टी-२० विश्वकप २०२८ को ग्लोबल क्वालिफायरमा सिधै स्थान सुरक्षित गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले विश्वकप छनोटको नयाँ संरचना सार्वजनिक गरेसँगै नेपाल ग्लोबल क्वालिफायरमा पुग्ने टोलीमध्ये एक बनेको हो।
आईसीसीले २०२८ को टी-२० विश्वकपका लागि १६ टोली सहभागी हुने ग्लोबल क्वालिफायरको व्यवस्था गरेको छ। यस प्रतियोगिताबाट विश्वकपका लागि अन्तिम ८ टोलीको टुंगो लाग्नेछ। नयाँ प्रारूपले विश्वभरका एसोसिएट राष्ट्रहरूलाई विश्वकपमा स्थान बनाउन थप अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
ग्लोबल क्वालिफायरमा सहभागी १६ टोलीमध्ये केही टोली २०२६ टी-२० विश्वकप खेले पनि २०२८ संस्करणका लागि स्वतः छनोट हुन नसकेका राष्ट्र हुनेछन्। यस सूचीमा स्कटल्यान्ड भने समावेश हुने छैन। बाँकी आठ टोली क्षेत्रीय छनोट प्रतियोगितामार्फत आउनेछन्।
क्षेत्रीय छनोटबाट एसियाबाट २, अफ्रिकाबाट २, युरोपबाट २, अमेरिकाबाट १ र पूर्वी एसिया-प्रशान्त (ईस्ट एसिया-प्यासिफिक) क्षेत्रबाट १ टोली ग्लोबल क्वालिफायरमा पुग्नेछन्।
ग्लोबल क्वालिफायरबाट विश्वकपमा छनोट हुने प्रक्रिया पनि विशेष बनाइएको छ। पाँचवटै क्षेत्र (एसिया, अफ्रिका, युरोप, अमेरिका तथा पूर्वी एसिया–प्रशान्त) का उत्कृष्ट प्रदर्शन गर्ने एक-एक टोलीले स्वतः विश्वकपमा स्थान बनाउनेछन्। बाँकी तीन स्थान भने सबै टोलीको समग्र प्रदर्शनका आधारमा उत्कृष्ट रहने टोलीलाई दिइनेछ। त्यसका लागि सम्बन्धित टोलीले आईसीसीले तोकेको न्यूनतम प्रदर्शन मापदण्ड पूरा गरेको हुनुपर्नेछ।
नेपालले ग्लोबल क्वालिफायरमा प्रत्यक्ष स्थान बनाएकोले अब विश्वकप यात्रा अघि बढाउन क्षेत्रीय छनोट खेल्नुपर्ने छैन। विश्वकपमा स्थान सुरक्षित गर्न नेपालले ग्लोबल क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ।
नयाँ छनोट प्रणालीले एसोसिएट राष्ट्रहरूबीच प्रतिस्पर्धालाई अझ रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ। नेपालका लागि पनि यो विश्वकपमा लगातार उपस्थिति जनाउने अर्को महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
